उपप्रधानसहित नौ मन्त्री थपिए ,मन्त्रिपरिषद १८ सदस्यीय

1.3K

उपप्रधानसहित नौ मन्त्री थपिए ,मन्त्रिपरिषद १८ सदस्यीय

KP-oli-team_1काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानसहित नौ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । तर, सरकारको नेतृत्व गरेको एमालेबाट भने आन्तरिक विवाद नमिलेका कारण मन्त्री थपिएनन् ।

आइतबार प्रधानमन्त्री ओलीले एमाओवादी, फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीबाट गरी नौ मन्त्री थपेका छन् । थपिएका मन्त्रीले आइतबार नै राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका छन् ।

नयाँ उपप्रधानमन्त्रीमा एमाओवादी सचिव टोपबहादुर रायमाझी छन् । उर्जा मन्त्रालयको विभागीय जिम्मेवारी पाएका उनले सरकारमा एमाओवादीको नेतृत्व गर्नेछन् ।

एमाओवादी नेता शक्ति बस्नेत गृहमन्त्री भएका छन् । एमाओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री, गणेशमान पुन आपूर्ति मन्त्री, उमेश यादव सिचाइँ मन्त्री बनेका छन् ।

यस्तै फोरम लोकतान्त्रिकबाट महासचिव रामजनम चौधरी मन्त्री बनेका छन् ।  यस्तै बहुजन समाजवादी पार्टीका सभासद विश्वेन्द्र पासवान पनि मन्त्री बनेका छन् । दुबैको मन्त्रालय तय भएको छैन ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति डा. रामवरण यादवसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबारको विस्तारसँगै ओली सरकारमा उपप्रधानमन्त्रीको संख्या तीन पुगेको छ, जसमा रायमाझीसहित उपप्रधान एवं भौतिक योजनामन्त्री विजय गच्छदार छन् भने उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा छन् ।

यससँगै १३ मन्त्री र एक राज्यमन्त्रीसहित ओली नेतृत्वको मन्त्रिपरिषद २० सदस्यीय भएको छ ।