बुटवल / भारत भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दुई वरिष्ठ मन्त्रीलाई भेटेर सीमा नाकामा आवागमन सहज बनाउन आग्रह गरेका छन् । तर, भारतले आफ्नो तर्फबाट अवरोध नभएको भन्दै आफ्नो देशभित्रको समस्या सुल्झाउन सुझाव दिएको छ ।
भारतको अघोषित नाकाबन्दी खुलाउने प्रयासमा उपप्रधानमन्त्री थापा भारत गएका थिए । थापाले आइतबार गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग छुट्टा छुट्टै भेट गरेका छन् ।
हैदराबाद हाउसमा नेपाल र भारतका विदेशमन्त्रीबीच भएको भेटमा सीमा नाकामा देखिएको अवरोध हटाउनेबारे छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री थापाले मालबाहक सवारी साधानको आवागमन सहज बनाउन भारत सरकारलाई आग्रह गरेको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।
भारतीय विदेशमन्त्रीसँगको भेट सकारात्मक भएको उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले बताएका छन् । स्रोतका अनुसार थापाले भेटमा नेपालमा भएको नयाँ सरकार गठन, मधेसी मोर्चासँग भएको वार्ता प्रयास र संविधान संशोधनका लागि भइरहेका पहलबारे जानकारी गराएका छन् ।
जवाफमा भारतीय विदेशमन्त्री स्वराजले भने सीमा नाकामा भइरहेको आन्दोलन र असुरक्षाका कारण सीमा नाकामा अवरोध देखिएको बताएकी छन् । उनले आफ्नो देशभित्रको समस्या सुल्झाउने प्रयास सघन बनाउन सुझाव दिएको एक अधिकारीले बताएका छन् ।
उप्रधान एवं परराष्ट्रमन्त्री थापाले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटेर आपसी हितबारे छलफल गरेका छन् । त्यसअघि भारतीय विदेश सचिव एस जयशंकरसहितको टोलीले थापासहितको टोलीसँग छलफल गरेको थियो ।
नयाँ सरकार गठनसँगै भारतले नाकाबन्दीलाई खुकुलो बनाउने अपेक्षासहित परराष्ट्रमन्त्री दिल्ली भ्रमणमा गए पनि दिल्लीले नेपालको समस्या समाधान गर्नु भन्ने पुरानै सन्देश सुनाएर तत्काल नाकाबन्दी नहट्ने प्रष्ट संकेत गरेको छ