
बुटवल, १२ माघ । रुपन्देहीको तिलोत्तमा–११ चार नम्बरमा जारी जिल्ला स्तरीय आई.एस.सी.ए. कप क्रिकेटमा आज तीन खेलहरु सम्पन्न भएका छन् ।
संस्थागत विद्यालय क्रिकेट संघको आयोजनामा नवज्योति बोडिङ्ग स्कुलको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा ग्रिनप्लान्ट ईङ्गिलिस बोडिङ्ग स्कुल विजयी भएको छ । लिटिल फ्लावर ईङ्गिलिस बोडिङ्ग स्कुललाई ५० रनले हराउदै ग्रिनप्लान्टले जित दर्ता गरेको हो । उक्त खेलमा ग्रिनप्लान्टका बुद्ध क्षेत्री म्यानअफ दि म्याच घोषित भएका छन् ।
त्यस्तै आजै भएको दोस्रो खेलमा बृहस्पति बोडिङ्ग स्कुल विजयी भएको छ । बृहस्पतिले रामापुर बोडिङ्ग स्कुललाई ५४ रनले हराएको हो भने खेलमा बृहस्पतिका सुदीप केसी म्यानअफदी म्याच घोषित भएका छन् । यस्तै आज नै भएको अन्तिम खेलमा युनिक होम बोडिङ्ग स्कुलले होराइजनलाई ५० रनले हराएको छ ।
खेलमा युनिकका सुनिल यादव म्यानअफदि म्याच घोषित भएको संस्थागत विद्यालय क्रिकेट संघ रुपन्देहीका अध्यक्ष समिर खानले जानकारी दिनुभयो । यस्तै प्रतियोगिता अन्र्तगत भोली पनि विभिन्न चरणका तीन खेलहरु हुने भएका छन् । भोलीको पहिलो खेल डन चिल्ड्रेन बोडिङ्ग स्कुल र सुमित बोडिङ्ग स्कुल बीचमा हुने छ ।
भोलीको दोस्रो खेल न्यू ईन्भारमेन्ट बोडिङ्ग स्कुल र ड्रिम भिजन बोडिङ्ग स्कुलका विचमा र तेस्रो खेल न्यूलाईट र नवज्योति बोडिङ्ग स्कुलका विचमा हुने छ ।