पत्रकारको गुणस्तर बृद्धिमा जोड

1.3K

पत्रकारको गुणस्तर बृद्धिमा जोड

बुटवल, १५ माघ । सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको संख्यात्मक मात्र नभई गुणात्मक बृद्धि पनि हुनुपर्ने बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीको महिला विभागले आज बुटवलमा आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अगुवा पत्रकार तथा सरोकारवालाले पत्रकार महासंघ, प्रेस युनियन लगायतका संघ संस्थामा आबद्ध सदस्यको संख्या मात्र बढाउनु भन्दा पनि भएकालाई दक्षता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्ने र क्रियाशिल बनाउनु पर्ने धारणा राखेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले लोकतन्त्र बलियो हुन सञ्चार क्षेत्र बलियो हुनै पर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारिता र पत्रकार कमजोर भए लोकतन्त्र पनि कमजोर हुने भएकाले मुलुक र जनतालाई शक्तिशाली बनाउनकालागि पत्रकारिता र पत्रकार अब्बल हुनु पर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनाल, सांस्कृतिक संघका सभापति तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय परामर्शदाता राधेश्यामराज भण्डारी लगायतले बोल्दै समाज रुपान्तरणका लागि पत्रकारिताको अहम भूमिका रहेने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संञ्चारसँग सम्बन्धीत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले पत्रकार महासंघको आउँदै गरेको जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न पार्नुपर्ने भन्दै महासंघलाई सबैको साझा संस्था बनाउनु पर्ने धारणा राखेका थिए । प्रेस युनियन रुपन्देहीकी कार्यबहाक सभापति तथा महिला विभाग प्रमुख रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा युनियन पश्चिमाञ्चल क्षेत्रीय सचिव हरिश ढकाल, सल्लाहकार खिमानन्द भटराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, प्रेस युनियन महिला विभाग सल्लाहकार माया गौतम, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष भुवन कार्की, क्रान्तिकारी पत्रकार महासंघका टेक मास्की राना, प्रगतिशिल पत्रकार संघका विरेन्द्र कुँवर, सञ्चारिका समुहकी कोषाध्यक्ष कान्ति चुँदाली लगायतले बोल्दै रुपन्देहीको पत्रकारिताको गणस्तर बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा पूर्व केन्द्रीय उपसभापति हरि लम्साल, सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य माधव नेपालले पत्रकारिता र सांगठनिक सुशासन तथा नेपालमा व्यबसायिक पत्रकारिताको विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

प्रशिक्षणको समापन कार्यक्रममा युनियनका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य रामराज पोख्रेल, सल्लाहकार तथा पूर्व सभापति भवानीप्रसाद पाण्डे, सल्लाहकार डायलसन अधिकारी, पूर्व सभापति छवी पाण्डे, युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपाल, सहभागी सरिना मरासिनी, पुजा पन्थी लगायतले बोल्दै प्रशिक्षण कार्यक्रमले पत्रकारिताको लागि थप जानकारी हासिल हुने तथा संगठनलाई अझै मजबुद बनाउन सघाउ पु¥याउने धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कल्पना तिवारी र मिना ढकाल गर्नुभएको थियो ।