एमालेमा मन्त्री छान्न सकस

1K

एमालेमा मन्त्री छान्न सकस

kp-oli2

काठमाडौं: सरकारको नेतृत्व गरेको एमालेभित्रै मन्त्री छान्न सकस भएको छ । प्रधानमन्त्रीले कुनै संस्थागत निर्णयबिनै मन्त्रालय बाँडफाँट गरेको भन्दै एमाले पदाधिकारीले विरोध गरेपछि मन्त्री चयनमा विवाद देखिएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पहिलो चरणमा नियुक्ति गरेका मन्त्रीका विषयमा संस्थागत निर्णय नगरेको भन्दै नेताहरूले असन्तुष्टि प्रकट गरेका छन् । यसबारेमा  स्थायी समिति बैठकमा विवाद भएको थियो ।उपमहासचिव घनश्याम भुसालले मन्त्रीको नाम पार्टीले अनुमोदन नगर्ने चेतावनी दिएपछि बैठकमा तनाव भएको स्रोतले बतायो ।
‘मन्त्री हुनुभएका कामरेडहरूलाई धन्यवाद दिऊँ, अनुमोदनचाहिँ नगरौं,’ भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो । एक नेताका अनुसार प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलसँग अलगअलग सूची भएकाले मन्त्रीहरूको नाममा सहमति हुन नसकेको हो ।
पदाधिकारीहरूको असन्तुष्टिपछि छलफल गरेर नामबारे निर्णय लिने आश्वासन दिएका प्रधानमन्त्री ओलीले शनिबार साँझसम्म स्थायी समिति बैठक बोलाएका छैनन् । 
केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अध्यक्षको कार्यशैली सर्वसत्तावादी भएको दाबी गरे । ‘सरकार सञ्चालनमा भने सबै दलहरू रहेको संयन्त्र बनाउने, पार्टीमा चाहिँ विधि र प्रक्रियामा नचल्ने उहाँको दोहारो मापदण्ड देखियो,’ उनले भने ।
सरकारमा पठाउने नेताहरूबारे आवश्यक गृहकार्य गरेर स्थायी समितिमा प्रस्ताव पेस गर्न प्रधानमन्त्री ओलीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनेको थियो । तर कार्यदलको बैठक बसेको छैन । महासचिव पोखरेलले पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने टुंगो नलागेको बताए । ‘यस विषयमा छलफल गरेर टुंगो लगाउँछौं,’ उनले भने ।
उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलबीच सरकारमा को जाने भन्ने विवाद अझै नटुंगिएको स्रोतले बतायो । अन्य मन्त्रीको नाममा टुंगो लागेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलसँग छलफल गरेर चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने बताए । 
एमालले मन्त्री बनाउने सूचीमा रवीन्द्र अधिकारी, प्रकाश ज्वाला, शेरधन राई, जनार्दन ढकाल, शत्रुध्न महतो, प्रेम आले, बैजनाथ चौधरी, नागेन्द्र चौधरी, शेरबहादुर तामाङ, श्रीमाया थकाली, जयन्ती राई, यज्ञराज सुनुवार, देवबहादुर सुनार र जितु गौतमलगायत छन् ।