
मणिग्राम, १७ माघ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले सञ्चालन गर्दै आएको जिल्लास्तरीय अन्तरकलेज नकआउट फूटबल प्रतियोगिताको तेश्रो संस्करण अन्तर्गत आज तीनवटा खेल भएका छन् ।
पहिलो खेलमा राममणि नीलोलाई शुन्यका विरूद्ध एक गोल गर्दै ग्रीनप्लाण्ट देवदह विजयी भएको छ । त्यस्तै, दोश्रो खेलमा पर्ल इण्टरनेशनल कोटीहवालाई शुन्यका विरूद्ध तीन गोल गर्दै सेण्ट जोसेफ भलवारी विजयी भएको छ । तेश्रो खेलमा हरैया बहुमुखी क्याम्पसलाई शुन्यका विरूद्ध तीन गोल गर्दै न्यू होराइजन विजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत भोलि (मङ्गलबार) दुईवटा खेल हुनेछन् । विहान सात बजे हुने पहिलो खेलमा राममणि रातो र सेण्ट जोसेफबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, विहान दश बजे हुने दोश्रो खेलमा न्यू इन्भाइरनमण्टको रातो समूह र ग्रीनप्लाण्ट देवदहले प्रतिस्पर्धा गर्ने खेल संयोजक सुबाश के.सी.ले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो हुने समूहले पच्चीस हजार नगद र दोश्रो हुने समूहले पन्ध्र हजार नगदसहित शील्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसले जनाएको छ ।