एमाओवादीको समन्वय समिति

891

एमाओवादीको समन्वय समिति

a mao-office

काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

 समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा छन् । उपप्रधान एवं उर्जामन्त्री समेत रहेका रायमाझीले सरकारमा पार्टीले नेतृत्व गरेका छन् । पोखरेल शिक्षामन्त्री भएका छन् ।

पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ । ‘‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’’, बैठकपछि प्रवक्ता शर्माले भने ।