
बुटवल, २० माघ । नेपाल प्रेस युनियन पश्चिमाञ्चल क्षेत्रीय समितिको बैठकले नेपाल पत्रकार महासंघको निर्वाचन लक्षित चुनावी रणनीति तयार गरेको छ ।
बुधवार तनहुंको दमौलीमा भएको क्षेत्रीय बैठकमा प्रेस युनियनलाई मजबुत बनाई महासंघको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएको हो । पश्चिमाञ्चल क्षेत्रमा आगामी फागुन ३ गते घोषणा गरिएको चुनावमा कसरी युनियनले नेतृत्व आफ्नो पक्षमा पार्ने विषयमा घनिभुत छलफल भएको थियो । महासंघको जिल्ला समितिले निर्णय गरे भन्दा बाहिरी चोरबाटो बाट सदस्य थप गरिएकोमा बैठकले घोर आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वलाई सदस्यता वितरणमा भएको मनोमानी नसच्चाए युनियनले कठोर कदम चाल्ने चेतावनी दिइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले अपारदर्शी क्रियाकलाप गर्ने लोकतान्त्रिक नहुने भन्दै विद्रोह, असहयोग गर्नेलाई संगठनमा प्रवेश निषेध गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले आन्तरिक व्यवस्थापन गरी संगठनलाई जिताउन पहल गर्न बैठकमा उपस्थितलाई आग्रह गर्नुभयो ।
युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघको नेतृत्व लिन मातहतका क्षेत्रीय, अंचल र जिल्ला सभापतिहरुलाई एकजुट भएर अगाडी बढ्न निर्देशन दिनुभयो । उहांले युनियनले गरेको निर्णय विरुद्ध जाने कोही कसैलाई कारवाही गर्ने चेतावनी दिनुभयो । उहाले भन्नुभयो ‘उम्मेदवारको इच्छा, आकाक्षा राख्ने अधिकार सबैलाई भएपनि युनियनले गरेको निर्णय विरुद्ध जाने, संगठनलाई हराउने जो कोही युनियनमा रहदैनन् ।’

युनियनका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले युनियन बलियो भए मात्रै नेपालको पत्रकारिता बलियो हुने बताउनुभयो । महासंघका पुर्व महासचिव पोषण केसीले माया ममताले संगठन नचल्ने हुदा अनुशासन विपरित जाने विरुद्ध कठोर कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, युनियनका महासचिव अजयबाबु शिवाकोटी, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोजराज अधिकारी, केन्द्रीय सदस्य केबी राना, क्षेत्रीय सचिव हरिश ढकाल, पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, तनहुँ अध्यक्ष ओमकार आचार्य, पूर्वअध्यक्ष डम्बर अधिकारी र सल्लाहकार शिव लम्साल तथा महासका पूर्वमहासचिव पोषण केसीलगायतले युनियनलाई मजबुत बनाउन सके मात्रै महासघ आफूहरुको पकडमा आउने बताउनुभएको थियो ।
बैठकमा युनियनका जिल्ला अध्यक्षले आफ्नो जिल्लाको पछिल्लो अवस्थाको वारेमा जानकारी गराएका थिए । बैठकमा लुम्बिनी अंचल संयोजक माधव अर्याल, रुपन्देहीका कार्यवाहक अध्यक्ष रेखा भुसाल लगायत १४ जिल्लाका अध्यक्षहरुले युनियनले गरेको क्रियाकलाप र आफ्नो जिल्लाको वारेमा जानकारी गराउनु भएको थियो । बैठकमा १४ जिल्लाका ६० भन्दा बढी पत्रकारको सहभागिता थियो । नेपाल प्रेस युनियनले केही दिन अघि पूर्वाञ्चलमा क्षेत्रीय भेला गरेको थियो । युनियनले देशभर चुनावी रणनीति बनाउन भेला, बैठकको आयोजना गरेको छ ।
