महायज्ञमा भक्तजनको घुँईचो

1.3K

महायज्ञमा भक्तजनको घुँईचो

बुटवल, २४ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गरिएको स्वर्ण महोत्सव महायज्ञमा भक्तजनको घुँईचो लागेको छ ।

मन्दिर स्थापना भएपछि सुरु गरिएको महायज्ञ ५० औं पुगेको अवसरमा अहिले सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ सञ्चालन गरिएको छ । यही माघको १९ देखि १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञमा २५ हजार रुपैंया भन्दा बढी दान गर्ने व्यक्तिलाई चाँदीको स्वर्ण महोत्सव तक्माले सम्मान गरिएको छ । महायज्ञको छैठौं दिनसम्म आईपुग्दा उक्त स्वर्ण महोत्सव तक्माबाट करिव दुई सय व्यक्तिलाई सम्मान गरिसकिएको आयोजकले बताएका छन् ।

त्यस्तै महायज्ञमा सञ्चालित १८ पुराँणमा एक पुराँण बराबर १ लाख ५१ हजार रुपैंया दान गर्ने व्यबस्था मिलाईएको छ । व्यक्तिले घरमा एउटा पुराण लगाउँदा कम्तिमा १५/२० लाख रुपैंया खर्च हुने हुँदा थोरै खर्चमा सामाजिक काममा सहयोग पनि हुने भएकाले कर्ता बनेर सहयोग गर्न महायज्ञ सम्पादन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।

उहाँका अनुसार हालसम्म १० पुराणँकालागि कर्ता भईसकेको र बाँकी आठ पुराणकालागि मात्रै कर्ता बन्न बाँकी छन् । त्यस्तै ३५ हजार रुपैंया दान गर्ने व्यक्ति गायत्री पुनश्चरणको कर्ता बन्ने व्यवस्था मिलाईएको सचिव भरत भुसालले बताउनु भयो ।

सांस्कृतिक पर्वको रुपमा बिकास गर्ने उद्देश्य सहित गर्न लागिको स्वर्णमहोत्सव महायज्ञको आयोजना गरिएको र सामाजिक तथा सांस्कृतिक बिकासकालागि महायज्ञमा सहभागि हुन महायज्ञ सम्पादन समितिका अध्यक्ष बञ्जाडेले आग्रह गर्नुभएको छ ।

महायज्ञमा पर्सी २७ र २८ गते राष्ट्रिय सन्त–विद्वत् सम्मेलन समेत गर्ने तयारी गरिएको छ । सन्त सम्मेलनमा डा. गुरुप्रसाद सुवेदीले वर्ण व्यबस्था र वर्ण धर्म, नेपाल संस्कृति विश्वविद्यालयबाट वैदिक धर्म संस्कृति र संस्कृत भाषाको उन्नयन तथा प्राध्यापक मोहन भण्डारीले संविधानमा धर्म निरपेक्षताको व्यबस्था भएपछिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा देशका लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरु सहभागी हुनेछन् । राष्ट्रिय सन्त–विद्वत् सम्मेलनबाट वर्णधर्म व्यबस्था, संस्कृत भाषको उन्नयनको आगामी कार्यभार एवम् समसामयिक विषयमा मणिग्राम घोषणापत्र जारी गरिने स्वर्ण महोत्सव महायज्ञका अनुगमन तथा निर्देशक समिति संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो ।