फोहर व्यवस्थापनमा चर्को शुल्क उठाइएकोमा कांग्रेसको विरोध

1.3K

फोहर व्यवस्थापनमा चर्को शुल्क उठाइएकोमा कांग्रेसको विरोध

बुटवल, २५ माघ । बुटवलमा फोहरमैला व्यवस्थापनको नाममा मनोमानी तरिकाले शुल्क तोक्ने र उठाउने कार्य भइरहेको भन्दै नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विरोध जनाएको छ ।

बुटवल उपमहानगरपालिका तथा ठेकेदारहरुले फोहर व्यवस्थापनका लागि नगरबासीहरुसँग चर्को शुल्क उठाइएको भन्दै कांग्रेसले विरोध जनाएको हो । कांग्रेस बुटवल उपमहानगर समितिको आज बुटवल १७ सेमलारमा बसेको बैठकले फोहर व्यवस्थापनको लागि चर्को शुल्क बृद्धि गरिएको, ठेकदारले मापदण्ड विना तोकिएको भन्दा बढीे रकम उठाउने गरेको आरोप लगाएको छ । यसका बारेमा कांग्रेस बुटवल समितिले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

यस्तै आजको बैठकले बुटवल उपमहागरपालिका भित्रका स्ववियू निर्बाचन हुुने क्याम्पसमा नेपाल विद्यार्थी संघसंग समन्वय गर्न संयोजक पनि तोकेको छ । जस अनुसार बुटवल बहुमुखी क्याम्पसमा नगरसदस्य खड्कबहादुर क्षेत्री, लुम्बिनी बाणिज्य क्याम्पसमा नगर सदस्य राजु गुरुङ, सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा विद्यार्थी नेता विष्णु पोखरेललाई संयोजकको जिम्मेबारी दिइएको कांग्रेस बुटवलका उपसभापति बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको सभापतित्व तथा सचिव ज्योती भण्डारीको सञ्चालनमा भएको बैठकले फागुन ७ गते बुटवलको सेमलारमा प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै दिवस मनाउन नगर सचिव भवानी शर्मालाई संयोजक तोकेको छ । बैठकमा कांग्रेस रुपन्देही ४ का क्षेत्रीय सभापति हरि लम्साल, अग्रज नेता तथा पूर्व महाधिवेसन प्रतिनिधि उदयराज काफ्ले लगायतले बैठकमा धारणा राख्नुभएको थियो ।