तीन चलचित्र उद्यमीलाई सम्मान

1.3K

तीन चलचित्र उद्यमीलाई सम्मान

बुटवल, २६ माघ । चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा चलचित्रको जग बसाल्न योगदान गर्ने तीन जना चलचित्र उद्यमीलाई सम्मान गरेको छ । संघले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरि नेपाल चलचित्र संघका अधयक्ष प्रदिप उदय, संघका सदस्य कपिल द्वा र अर्का सदस्य ओम जैसीलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका सल्लाहकार दिपक ज्ञवालीले बुटवल पहाड र तराईको संगम हुँदा खोला–नाला, तराई र पहाड जस्ता फरक दृष्यहरु हुनु र संसारमा कहिँ नभएको शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थ पनि रुपन्देहीमा नै भएकाले चलचित्र छायाँकनको हव भएको बताउनु भयो । उहाँले प्रबिधिको बिकास भने चलचित्र उद्यमीका सामु चुनौतिका रुपमा खडा भएको भनाई राख्नुभयो ।

सम्मान पछि नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयले बुटवल चलचित्र छायाँङ्कनको गन्तव्यका हिसावले मुलुककै टप थ्रीमा रहेको बताउँदै रुपन्देहीलाई चलचित्र हवको रुपमा बिकास गर्नकालागि स्थानीय निकायले चिन्तन र चासोका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो । पछिल्लो सात आठ महिनाको अवधिमा नेपाली चलचित्रले बजारमा करिव ७०/८० प्रतिशत हिस्सा ओगटेको उल्लेख गर्दै उहाँले चलचित्र घर सञ्चालकहरुलाई पनि नेपाली चलचित्र लगाउँदा बढी फाईदा पुग्ने बताउनु भयो ।

नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कपिल द्वा, ओम जैसी, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपाल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रमेश अर्याल र स्वागत कोषाध्यक्ष मोहन न्यौपानेले गर्नुभएको थियो ।

नेपाल चलचित्र संघमा रुपन्देहीबाट द्वारिकाप्रसाद उदय, हरिप्रसाद द्वाले नेतृत्व गरिसक्नु भएको थियो भने हाल प्रदिप उदयले नेतृत्व गर्नुभएको छ ।