स्वर्णमहोत्सव महायज्ञमा सन्त सम्मेलन हुँदै

368

स्वर्णमहोत्सव महायज्ञमा सन्त सम्मेलन हुँदै

बुटवल, २६ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गरिएको महायज्ञमा भोली बिहीवार देखि दुई दिने राष्ट्रिय सन्त–विद्वत् सम्मेलन गर्ने तयारी गरिएको छ ।

उक्त सन्त सम्मेलनमा डा. गुरुप्रसाद सुवेदीले वर्ण व्यबस्था र वर्ण धर्म, नेपाल संस्कृति विश्वविद्यालयबाट वैदिक धर्म संस्कृति र संस्कृत भाषाको उन्नयन तथा प्राध्यापक मोहन भण्डारीले संविधानमा धर्म निरपेक्षताको व्यबस्था भएपछिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा देशका लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरु सहभागि हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।

राष्ट्रिय सन्त–विद्वत् सम्मेलनबाट वर्णधर्म व्यबस्था, संस्कृत भाषको उन्नयनको आगामी कार्यभार एवम् समसामयिक विषयमा मणिग्राम घोषणापत्र जारी गरिने स्वर्ण महोत्सव महायज्ञका अनुगमन तथा निर्देशक समिति संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो । त्यस क्षेत्रको सांस्कृतिक पर्वको रुपमा बिकास गर्ने योजना सहित ५० वर्ष देखि उक्त मन्दिरमा महायज्ञ सञ्चालन गर्दै आईएको छ । महायज्ञ गर्नु सुरु भएको ५० औँ वर्ष पुगेको अवसरमा यही माघको १९ गतेदेखि स्वर्ण महोत्सव महायज्ञ २०७३ सञ्चालन गरिएको हो ।

यही माघको २९ गतेसम्म चल्ने महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन गर्नुभएको छ भने सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवचन भएका छन् । त्यसै पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुभएको छ ।

आध्यात्मिक अनुष्ठानका रुपमा स्थापित गर्न खोजिएको महायज्ञको यज्ञशेषबाट सामाजिक, आध्यात्मिक जागरणका कार्यक्रम सञ्चालन गर्नुका साथै बिद्यार्थी आवास गृह, स्थायित्वकोलागि अक्षयकोष निर्माण गर्ने लक्ष्य लिईएको सचिव भरत भुसालले बताउनु भयो ।