जनमतको कदर गर्न धर्मगुरुहरुको आग्रह

1.3K

जनमतको कदर गर्न धर्मगुरुहरुको आग्रह

बुटवल, २८ माघ । नेपालको संविधान जारी गर्दा जनताको भावना विपरित धर्म निरपेक्ष मुलुक घोषणा गरिएको भन्दै जनमतको कदर गर्न धर्म गुरुहरुले आग्रह गरेका छन् । प्रजातन्त्र या लोकतन्त्र शव्द जुन प्रयोग भएपनि त्यसले जनताको बिचार र भावनालाई कदर गर्ने भएकाले प्रजातन्त्र÷लोकतन्त्रको सम्मानकालागि पनि जनताले चाहेको व्यबस्था हुनु पर्ने उनीहरुले बताए ।

माध्यम जनमत वा अरु कुनै जे व्यबस्था भएपनि जनताको मतको कदर हुने गरी जनताको भावनालाई संविधानमा समेट्नु पर्छ भन्ने भनाई रहेको स्वर्ण महोत्सव महायज्ञका अनुगमन तथा निर्देशक समिति संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गरिएको महायज्ञमा गरिएको राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरुले वैदिक धर्मलाई नैतिक शिक्षाको रुपमा ल्याउन समेत आग्रह गरेका छन् ।

जातीय आधारमा नभई कर्मका आधारमा वर्ण व्यबस्था भएकाले जातीय विभेदलाई वैदिक धर्मले कुनै मान्यता नदिएको उनीहरुको भनाई थियो । सम्मेलनमा डा. गुरुप्रसाद सुवेदीले वर्ण व्यबस्था र वर्ण धर्म, नेपाल संस्कृति विश्वविद्यालयबाट वैदिक धर्म संस्कृति र संस्कृत भाषाको उन्नयन तथा प्राध्यापक मोहन भण्डारीले संविधानमा धर्म निरपेक्षताको व्यबस्था भएपछिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

ती विषयमा विद्वानहरुले टिप्पणी गर्नुका साथै कार्यपत्र संशोधन प्रस्ताव राखेका छन् । दुई दिनको छलफलबाट आएको निचोडलाई समेटेर शनिबार मणिग्राम घोषणा पत्र जारी गरिने पाठकले बताउनु भयो । ५० वर्ष देखि उक्त मन्दिरमा सञ्चालन हुँदै आएको महायज्ञ ५० औं पुगेको अवसरमा यहि माघको १९ गतेदेखि स्वर्ण महोत्सव महायज्ञ २०७३ सञ्चालन गरिएको हो ।

शनिबारसम्म सञ्चालन हुने महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन गर्नुभएको छ भने सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवचन भएका छन् । त्यसै पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमय कथा प्रवचन गर्नुभएको छ ।

शनिबार समापन हुने महायज्ञमा हालसम्म करिव १ करोड ५० लाख रुपैंया दान संकनल नभएको महायज्ञ सम्पादन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।