बुटवल उद्योग वाणिज्य सङ्घले एक विज्ञप्ति जारी गरी तत्काल सडक क्षेत्रका घर नहटाउन आग्रह गरेको थियो । सङ्घले विज्ञप्ति जारी गरेसँगै घरधनीको भेलाले सङ्घर्ष समिति गठन गरेको हो । बुटवलको तीन किलोमिटर सडक किनारका व्यापारी तथा घरधनी सङ्गठित रुपमा सडक विस्तारविरुद्ध लागेका हुन् । बुटवलको एक होटलमा भएको घरधनीको भेलाले दधिराम खरेलको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको छ । यसको उपाध्यक्षमा डा प्रायश्चित श्रेष्ठ, सचिवमा किशोरकुमार विश्वकर्मा र कोषाध्यक्षमा हरिप्रसाद पोखरेल रहनुभएको छ । खरेल पश्चिम नेपाल बस व्यवसायी समिति र श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै सदस्यहरुमा रामेश्वर श्रेष्ठ, कुलचन्द्र गौतम, गोपाल पाण्डे, सूर्यबहादुर मल्ल, चन्द्रा न्यौपाने, सञ्जय गुप्ता, हाजी खानउल्लाह मियाँ, प्रेमसिंह क्षेत्री र रवीन्द्रनाथ पँगेनी रहनुभएको छ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मका तीन सयभन्दा बढी घर सडकको क्षेत्रमा परेका छन् । यसमा डिभिजन सडक कार्यालयले दायाँबायाँ रातो चिह्न लगाएको छ । सङ्घर्ष समितिका संयोजक खरेलले बुटवल क्षेत्रको सडक ८२ फुट बनाउन आवश्यक नभएको दाबी गर्नुहु्न्छ । “बुटवलको चौराहादेखि गोलपार्कसम्मको क्षेत्र हाइवे होइन, बजार क्षेत्र हा,े” उहाँले भन्नुभयो – “यसलाई ८२ फुट कायम गर्न आवश्यक छैन ।”
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले दुई चारजना व्यक्ति सङ्गठित हुँदैमा आफूहरुको काममा कुनै असर नपर्ने बताउनुभयो । “कसैको घर भत्काएर सडक बनाउने हाम्रो योजना होइन,” उहाँले भन्नुभयो – “हाम्रो आफ्नो जग्गा सफा गरेर राख्ने मात्र हो ।” कार्यालय आफ्नो योजनाबाट पछाडि नहट्ने उहाँले प्रस्ट पार्नुभयो । मरासिनीले तिहारलगत्तै कार्यालयले आफ्नो सडक सफा गर्न सुरु गर्ने बताउनुभयो । कार्यालयले सडक क्षेत्रभित्र परेका घरमा चिह्न लगाउने काम अन्तिम चरणमा पु¥याएको छ ।
समितिका उपाध्यक्ष तथा लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष श्रेष्ठले बुटवल क्षेत्रबाट हाइवे नहुने हुँदा यस क्षेत्रको सडकलाई विस्तार गरी ८२ फुट कायम गर्न आवश्यक नभएको बताउनुभयो । “मैले घर बनाउने बेलामा ८२ फुट कहाँसम्म पर्छ चिह्न लगाइदिनु प¥यो भन्दा सडकका जिम्मेवार व्यक्तिले ७५ फुट छोेडेर बनाए हुन्छ भनेका थिए,” उहाँले भन्नुभयो – “अहिले आएर ८२ फुट कायम गर्न खोज्ने ?”
पुष्पलाल पार्कमा रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक भएको घर श्रेष्ठको हो । सडक विभागले देशभरका मुख्य सडकलाई ८२ फुट कायम गर्न थालेको छ । सोही अनुसार बुटवलको सडक पनि ८२ फुट बनाउन लागिएको हो । यो सडक सिद्धार्थ राजमार्गअन्तर्गत पर्छ । बुटवल–भैरहवा ६ लेन सडन निर्माण गर्दा पनि विभिन्न स्थानमा व्यवसायीको अवरोध भए पनि त्यसको कुनै प्रवाह नगरी कार्यालयले सडक विस्तार निर्माण कार्य चालु राखेको छ । रासस