पत्रकार महासंघ रुपन्देहीमा विवाद

1.3K

पत्रकार महासंघ रुपन्देहीमा विवाद

बुटवल, १ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देही नयाँ सदस्यता बिवादमा फसेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमितिले गरेको निर्णय विपरित नियोजित रुपमा सदस्यता प्रदान गरिएको भन्दै आज पत्रकार सम्वद्ध बिभिन्न संघ संस्थाले महासंघ रुपन्देही सहित नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएका छन् ।

महासंघले गरेको निर्णय विपरित नियोजित रुपमा ५ जना सदस्य थप गरिएको र महासंघले निर्णय गरेर सिफारिस गरेका पत्रकारलाई समेत सदस्यता नदिईएको भन्दै नेपाल प्रेस युनियन रुपन्देहीको नेतृत्वमा नेपाल प्रेस सोसाईटि रुपन्देही, क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, संघीय पत्रकार परिषद र फोनिज रुपन्देहीले महासंघलाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, नेपाल प्रेस सोसाईटि रुपन्देहीका अध्यक्ष रमेश पोखरेल, क्रान्तिकारी पत्रकार संगठन नेपाल रुपन्देहीका भुवन न्यौपाने, प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, नेपाल मगर पत्रकार संघ रुपन्देहीका अध्यक्ष सोनु थापा, संघीय पत्रकार परिषद रुपन्देहीका मनोज थापा र फोनिज रुपन्देहीका सदस्य कमल थापाद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा उक्त विवादित निर्णयलाई तत्काल सच्याउन माग गर्दै आफ्ना मागलाई वेवास्ता गरिएमा जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिईएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति बैठकले ७१ जना पत्रकारलाई सदस्यता दिने निर्णय गरि केन्द्रीय समितिमा सिफारिस गरेको थियो । त्यसबाहेक ५ जनालाई केन्द्रले सदस्यता प्रदान गरेपछि विबाद चुलिएको हो । ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काले महासंघलाई साझा संस्थाको रुपमा बिकास गर्नकालागि आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्दै ध्यानाकर्षण गराईएको बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रमा सिफारिस गरिएको भन्दा बाहिरबाट स्वयम व्यक्तिले केन्द्रमा निवेदन गरेको र उनीहरुको निवेदनका आधारमा केन्द्रले फाईल मगाएको बताउँदै त्यसमा आफूले सहयोग गरेको बताउनु भयो । उहाँले मंगलबार महासंघ रुपन्देहीको निर्वाचन मिति घोषणा भएकाले उक्त मिति अँगाडी नै समस्या सुल्झाउने र निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यता ध्यानाकर्षण पत्र बुझाएका संगठनहरुले भने उक्त विवाद कायमै रहिरहे महासंघको निर्वाचन हुन नसक्ने बताएका छन् ।