सैनामैनाको ८७ प्रतिशत पुँजीगत बजेट खर्च हुन सकेन

1.3K

सैनामैनाको ८७ प्रतिशत पुँजीगत बजेट खर्च हुन सकेन

माधव ज्ञवाली/
सैनामैना, २ फागुन । सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०७३/०७४ को पुँजीगत बजेट मध्ये ८७ प्रतिशत रकम खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षमा नगरपालिकाको पुँजीगत बजेटबाट १३ प्रतिशत मात्र खर्च भएको लेखा प्रमुख केदार न्यौपानेले जानकारी दिनुभयो ।  चालु आर्थिक वर्ष सकिन ५ महिना बाँकी छ । तर पुँजीगत बजेट खर्च हुन नसक्दा जनतामा अन्यौलता सिर्जना भएको छ ।

विकासमा खर्च गर्ने बजेट समयमा खर्च नहुने र समय सकिनै लाग्दा एकै पटक खर्च गर्ने प्रवृतिले गुणस्तरहीन कामले प्रशय पाउँदै आएका छन् । नगरपलिकामा आन्तरिक स्रोतबाट पुँजीगत तर्फको खर्चका लागि ९३ लाख ४९ हजार २ सय ८४ विनियोजन गरिएको थियो भने नेपाल सरकारले ४ करोड १८ लाख ५४ हजार बजेट विनियोजन गरेको थियो । पछिल्लो समयमा आएको नगर क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तर्गत १ करोड ६५ लाख बराबरको बजेट गरी चालु आर्थिक वर्षमा कुल ६ करोड ७७ लाख, ३ हजार २ सय ८४ नगर बिकासकालागि पुँजीगत बजेट विनियोजन भएको थियो ।

स्थानीय खोला नालाबाट नदिजन्य निकासी नभएको तथा सरकारको श्रम ऐन उपभोक्ता समिति गठन गरेपनि योजनागत सम्झौताहरु माघ मसान्त भित्र सम्पन्न हुने हुँदा लगत स्टिमेट पनि बनीसकेकाले अव छिटै काम शुरु हुने उहाँले बताउनु भयो । स्थानीय स्रोत र साधनको पहुँच पुगेमा जनताले एक दुई महिना मै उक्त बजेट अनुसारको काम गर्न सक्ने बताउँदै उहाँले अव छिटै सैनामैना नगर भित्र बाटोहरु सुधार र बिस्तारकालागि १ करोड ६५ लाख रुपैंयाको टेण्डर प्रकृया छिटै शुरु हुने उहाँले जानकारी गराउनु भयो ।

सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले यस वर्षको पुँजीगत वजेट खर्चका लागि उपभोक्ता समिति गठन भई तालिमसमेत दिइसकिएको र फागुन ७ गते भित्र नदिजन्य बस्तुको निकासीकालागि दररेट आएपछि ठेक्का प्रकृया अँगाडी बढ्ने बताउनु भयो । सैनामैना नगरपालिकामा गत वर्ष ९७ प्रतिशत बजेट खर्च भएको थियो । हरेक वर्ष आर्थिक वर्षको अन्त्यतिर आएर काम गर्दा वर्षा मौसमका कारण विकासका कार्यहरू गुणस्तरहिन हुने गर्दछन् ।

नेपाली काँग्रेस सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारीले नगर विकासकालागि छुट्याईएको बजेट जनताले महसुस गर्नेगरी समयमा नै खर्च हुनु पर्ने बताउनु भयो । त्यसकालागि नेपाली काँग्रेसले के भूमिका खेल्नुपर्छ तयार रहेको उहाँले बताउनु भयो । नेकपा माओवादी सैनामैना नगर इन्चार्ज नारायण न्यौपानेले नगर विकासका लागि खर्च गरिने पुँजीगत बजेट नीतिगत समस्याका कारण समयमा खर्च हुन नसकेको प्रतिक्रिया दिनुभयो ।