मिति तोकेर मात्रै चुनाव हुँदैन : डा. कोइराला

1.3K

मिति तोकेर मात्रै चुनाव हुँदैन : डा. कोइराला

बुटवल, २ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा साँसद डा. शेखर कोईरालाले एमाले र मधेशवादी दलको अराजकताका कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताउँदै निकासकालागि सबै दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।

उहाँले एमालेले निर्वाचन अँघी संविधान संशोधन हुन नदिने र मधेशवादी दलहरुले संविधान संशोधन बिना निर्वाचन हुन नदिने दुबैकुरा अतिवादी भएको बताउँदै एमाले पनि छलफलमा आउनु पर्ने र मधेशवादी पनि संशोधन प्रस्ताव पास फेल जे भएपनि स्वीकारेर निर्वाचनमा जानु पर्ने बताउनु भयो ।

देश दौडाहामा निस्कनु भएका नेता कोईरालासंग नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले एमालेले अलोकतान्त्रिक र गैर संसदीय चरित्र देखाएको जिकिर गर्नुभयो । ‘संसदमा प्रस्ताव दर्ता छ ।’ उहाँले भन्नुभयो–‘संसदमा दर्ता भएको प्रस्तावमा छलफल हुन पाउनु पर्छ ।’ उहाँले संसदमा दर्ता भएको प्रस्ताव पास फेल जे भएपनि मधेशवादी दलले पनि स्वीकार गरेर अँगाडी बढ्नु पर्ने बताउनु भयो ।

निर्वाचनको मिति घोषणा गर्दैमा निर्वाचन हुने नभई चुनावको वातावरण बनेमा मात्रै निर्वाचन हुन सक्ने भएकाले वातावरण बनाएर मात्रै चुनावको मिति तोक्दा उपर्युक्त हुने उहाँले बताउनु भयो ।  पहिले मधेशी दलहरुलाई उपेक्षा गर्दा अहिले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताउँदै केन्द्रीय सदस्य कोईरालाले मधेशी दल पनि एउटा शक्ति भएकाले उनीहरुलाई पनि उपेक्षा गर्न नहुने भनाई राख्नुभयो ।

मुलुकमा उत्पन्न राजनीतिक अस्थिरता अन्त्यकालागि नेपाली काँग्रेस, एमाले, माओवादी र मधेशी दलहरु मिल्नुको विकल्प नभएको उहाँले बताउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गर्नुभएको थियो ।