थापालाई प्रथम शहीद घोषणा गरिएपनि उपेक्षा गरिएको गुनासो

1.3K

थापालाई प्रथम शहीद घोषणा गरिएपनि उपेक्षा गरिएको गुनासो

बुटवल, २ फागुन । प्रथम शहीद लखन थापामगरको १ सय ४० औं स्मृति दिवस बुटवलमा एक कार्यक्रमका बिच मनाईएको छ । नेपाल मगर संघ रुपन्देही र प्रथम शहीद लखन थापामगर अक्षयकोष रुपन्देहीले आज बुटवलको राजमार्ग चौहाहमा सभाको आयोजना गरी स्मृति दिवस मनाएका हुन् ।

स्मृति सभामा बोल्दै नेपाल मगर संघका पूर्व उपाध्यक्ष वसन्त घर्तीले राज्यले लखन थापालाई प्रथम शहीद घोषणा गरेर सम्मान गरेपनि व्यवहारमा उपेक्षा गरेको बताउनु भयो । उहाँले शहीद लखन थापाको आहुतिलाई कहिल्यै भुल्न नहुने बताउंदै राज्यले व्यवहारमा विभेद गरेको आरोप लगाउनुभयो । शहीद सबैको साझा भएको उल्लेख गर्दै उहाँले लखन थापाको वीरतालाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयो ।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टाले प्रथम शहीद थापा मगरलाई राज्यले सम्मान नगरेको गुनासो गर्नुभयो । राज्यले प्रथम शहीद घोषणा गरेपनि शहीदलाई दिनुपर्ने सम्मान दिन नसकेको उहाँले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सदस्य हरिबहादुर आचार्य क्षेत्री, नेकपा एमालेका चिनबहादुर गुरुङ्, नेकपा क्रान्तिकारी माओवादीका भुलबहादुर सुनारी मगर, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमहादुर गुरुङ् लगायतले बोल्दै प्रथम शहीद लखन थापाले परिवर्तनका खातिर दिएको वलिदानलाई सधैभर उच्च सम्मान गर्नुपर्ने बताएका थिए ।

नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारुको अध्यक्षता र सचिव कमल थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । लखन थापा मगरलाई २०७२ असोज ३ गतेको मन्त्री परिषद्को बैठकले नेपालको प्रथम शहीद घोषणा गरेको थियो । वि.स. १८९१ सालमा गोरखाको बुङ्कोटमा जन्मिएका स्व. थापाले तत्कालिन समयमा जनताको जहानिया रााणा शासनका विरुद्ध विद्रोह गर्नुभएको थियो । राणाशासनका विरुद्व आन्दोलन गर्दा वि.स. १९३३ साल फाल्गुण २ गतेका दिन गोरकाको बुङ्कोटमै जङ्गबहादुर राणाको निर्देशनमा खटिएको फौजले रुखमा झुन्ड्याएर उहाँलाई फांसी दिएको थियो ।