
काठमाडौ, ४ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।
चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गर्नु भएको थियो । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले केही दिनमा नै मिति घोषणा गर्ने तयारी तयारी तीव्र पार्न भन्नु भएको छ । प्रमुख आयुक्त यादवले भने आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न सुझाव दिनुभयो ।
छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने उहांले वताउनु भयो । स्रोतका अनुसार निर्वाचन आयोगले सरकार सामु आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्ड केही दिनमा नै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारीमा हुनुहुन्छ । प्रमुख तीन दलबीच भएका पछिल्ला छलफलहरुमा जेठमा चुनाव गर्ने गरी ७ वा ८ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ ।
तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिँदै आएको छ । सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता पनि गरेको छ । तर, एमालेका साथै सत्तारुढ राप्रपाले समेत विरोध गरेका कारण दुई तिहाई नपुग्ने भएपछि विधेयक अघि बढेको छैन ।