गलत क्रियाकलाप रोक्न सिसिटिभीबाट निगरानी

1.3K

गलत क्रियाकलाप रोक्न सिसिटिभीबाट निगरानी

बुटवल, ६ फागुन । अपराध मुक्त बुटवल बनाउन प्रहरी र होटल व्यवसायीबीच सिसिटिभी क्यामेरा जडान गर्ने सहमति भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबीच आज भएको छलफल कार्यक्रममा बुटवलका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने सहमति भएको हो ।

सिसिटिभी क्यामेरा जडान गरेर बुटवलमा हुने अपराध तथा अन्य गलत क्रियाकलाप रोक्नका लागि प्रहरी र होटल व्यवसायीबीच यस्तो सहमति भएको हो । आवश्यक पर्ने स्थानमा सिसिटिभी क्यामेरा जडान गर्नका लागि सरोकारवाला संघसस्थाहरुसंग सहयोग लिने समेत सहमति भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले जानकारी गराउनुभएको छ ।

सुरक्षालाई ध्यान दिंदै होटल व्यवसाय रातभर सञ्चालन गर्ने र दोहोरी सांझ राती ११ वजेसम्म सञ्चालन गर्ने ईलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द्र मरासिनीसंग सहमति गरिएको छ । बुटवलमा हुने सबै प्रकारका अपराध तथा गलत क्रियाकलाप रोक्नका लागि  होटल व्यवसायीले प्रहरीलाई सक्दो सहयोग गर्ने उक्त छलफलमा सहमति भएको छ ।

सोही कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले होटल व्यवसायीले सजकता अपनाउंदा प्रहरीलाई शान्ति सुरक्षा कामय गर्न सहज हुने बताउनुभयो । समाजमा प्रहरीको व्यवहार राम्रो हुनुपर्ने बताउंदै गलत काम गर्ने कूनैपनि प्रहरीलाई छुट नभएको बताउनुभयो ।

उहांले व्यवसायिकतामा सुद्वता हुनुपर्ने बताउंदै जिम्मेवार भएर व्यवसाय चलाएर असल नागरिकको व्यवहार देखाउन आग्रह गर्नुभयो । होटल व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपालले  आफ्नो व्यवसायलाई आफैबाट सुधार गर्नुपर्ने बताउनुभयो । उहांले प्रहरी र व्यवसायी बिचको सम्वन्धलाई बढाउनु पर्ने बताउनुभयो । संघका अध्यक्ष समुन्द्र जी.सीले संघले बनाएको आचारसहिंता पालना गरेर इमान्दारीताका साथ व्यवसाय चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका निःवर्तमान अध्यक्ष मोदनाथ वेलवासे, पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, नारायणप्रसाद खनाल, सागर पौडेल, लेखनाथ भण्डारी, बाबुराम श्रेष्ठ, रुद्र ज्ञवाली, मिनाकुमारी वस्नेत लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष समुन्द्र जी.सीको अध्यक्षता र महासचिव बाबुराम गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।