दुई सातापछिको सदन बैठक सूचना टाँस गरी स्थगित

295

दुई सातापछिको सदन बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, १० फागुन । दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुका बीचमा कुरा नमिल्दा व्यवस्थापिका–संसद्को बैठक स्थगन भएको छ ।

करिब दुई सातापछि आज अपराह्न १ बजे बस्ने भनिएको सदनको बैठक सत्ता साझेदारी दल र प्रमुख प्रतिपक्षी दलकाबीचमा सो विषयमा कुरा नमिलेपछि विशेष कारण जनाउँदै बुधबार अपराह्न २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको हो ।

विशेष गरी सरकारलाई साथ र सहयोग दिँदै आएको मधेसकेन्द्रित दलले कार्यसूचीमा संविधान संशोधनलाई प्रवेश गराउनुपर्ने अडान र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संशोधनको औचित्य नरहेको भन्दै कार्यसूचीमा राख्न नहुने धारणाा राखेपछि सदनको बैठक एक दिन पर सारिएको हो ।

सभामुख ओनसरी घर्तीले बैठक बस्नुअघि प्रमुख दलका सचेतकसित छलफलसमेत गर्नुभएको थियो । गत माघ २३ गतेपछि सदनको बैठक आज बस्न लागेको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संविधान संशोधनको विषयलाई सदनमा अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।