
दुष्ट शकुनीको खुलेआम, दबाव छ यहाँ ।
हरेक कुरामा विदेशीको, प्रभाव छ यहाँ ।।
हरायो विधि र विधान, यो लोकतन्त्रमै ।
धेरै वर्षको अन्तरालमा, चुनाव छ यहाँ ।।
रैछन् जोगी सबै उस्तै, चिरेकै छन् कान ।
मत कसलाई दिने होला, तनाव छ यहाँ ।।
पाक्ने भए दुबै कान, झूटो आश्वासनले ।
नेताहरुमा नै इमानको, अभाव छ यहाँ ।।
बनाउँछ्न मुखले त, सिंगापुर र जापान ।
नेता सबैको अनुहारमा, नकाव छ यहाँ ।।
चिन्ता छैन देशको, लुट्नु छ जसरी नि ।
आफ्नै दुनो सोझ्याउने, लगाव छ यहाँ ।।
~ तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही