बुटवलमा ‘एक चिहान’

1.3K

बुटवलमा ‘एक चिहान’

रेनुका गिरी
बुटवल, १० फागुन । साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’लाई नाटकमा रूपान्तरण गरी बुटवलमा मञ्चन सुरु गरिएको छ । साँस्कृतिक राष्ट्रिय नाचघर काठमाडौंको प्रस्तुती र साधना साँस्कृतिक कला केन्द्रको ब्यवस्थापकमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको हो ।

उच्चमाध्यमिक तथा कक्षा ११ र १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा यो उपन्यास रहेकाले यसलाई मञ्चन गरिएको साधना सांस्कृतिक कलाकेन्द्रका अनु रजकले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै पाठ्यक्रममा रहेका विषयहरू सजिलोसंग बुझ्न सकून् र अहिलेका युवा पिढीलाई नेपाली कला र संस्कृतिको जानकारी समेत होस् भन्ने उद्देश्यले एक चिहान नाटक बुटवलमा मञ्चन गरिएको रजकले बताउनुभयो । उहाँले रङ्गमञ्च के हो ? जिवन्त अभिनय भनेको के हो ? रङ्गमञ्च र नाट्यकर्मी बचाई राख्ने उद्धे्श्यले बुटवलमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको बताउनुभयो ।

जातीयताकै सवाललाई लिएर मुलुक विभाजित मानसिकतामा जकडिरहेको बेला यो उपन्यास नाटकको रूपमा मञ्चन भइरहेको छ । स्वः प्रधानको एक चिहान कृतिलाई वीरेन्द्र हमालले नाट्य रूपान्तरण गर्नु भएको हो । दिनको दुई पटक मंगलबार, बुधबार र बिहीबार उद्योग वाणिज्य संघको सभाहलमा नाटक जारी छ । श्रम र गरिखानेहरूको नाममा नेपालमा धेरै लडाइँ हुने गरेका छन् तर श्रमिकको अवस्थामा सुधार देखिँदैन । त्यसैले २०१६ सालमा लेखिएको उपन्यास एक चिहान अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

नेपालका किसानको जीवन र त्यसमा उच्च वर्गका मानिसले राख्ने कुदृष्टि र शोषणका साथै सामाजिक अन्धविश्वास, प्रेम र विवाह, लैंगिक विभेदजस्ता पक्ष उपन्यासका मूल विषय हुन् । नाटकको सुरुवातमै अष्टनारायणको उपचारको लागि धामी लगाएको दृश्य देखाइन्छ । सबै देवीदेवताको पूजा गरिसकेपछि मात्र उहाँको परिवारले डाक्टरलाई बोलाउँछन् । यो दृश्य नेपाली समाजमा रहेको अन्धविश्वासको एउटा यथार्थ नमुना हो ।

नाटकको अर्को पात्र शिवनारायण परि श्रमीक किसान हुन् । उनी अष्टनारायणको जेठो छोरो हुन् । शिवनारायणलाई अन्यायको विरोधी, इमानदार, आज्ञापालक र विवेकी किसानको रूपमा नाटकमा देखाइएको छ । अष्टनारायणकी छोरी नानीथकुँ नाटककी प्रमुख नारी पात्रको रूपमा प्रस्तुत भएकी छन् । सरल र निश्चल स्वभावकी नानीथकुँमाथि पुरुष डाक्टर गोदत्तप्रसादले कुदृष्टि राख्छ । नाटकले नानीथकुँ र गोदत्त प्रसादको प्रेमलाई अहिलेको समाज र जीवनसँग मिल्ने गरी प्रस्तुत गरेको छ ।

नाटकमा नानीथकुँको तराईवासी खेलावन राउतसँग अन्तरजातीय विवाह हुन्छ । उपन्यासमा जातीय र सामाजिक जडतालाई तोड्दै अन्तरजातीय विवाहमार्फत सामाजिक सद्भावको वकालत गरेको देखिन्छ । अहिलेको सन्दर्भसँग समेत मिल्ने भएकोले नाटकलाई मञ्चनमा ल्याइएको एक चिहान नाटकका निर्देशक विरेन्द्र हमालले बताउनुभयो ।

नाटकमा अभिनय गर्ने कलाकारहरूमा रमेश केसी मट्टारे, अञ्जु रञ्जितकार, माया थापा, सुशीला थापा, विपीन घिमिरे, राजेन्द्र गड्तौला, आकाश थापा, गोरन चौधरी, रोहित सुवेदी, भरत लाखे रहेका छन् । यस्तै, प्राविधिकतर्फ नाटकको प्रकाश परिचालनमा मिलन नेपाली , मञ्च व्यवस्थापनमा तिलक सुनुवार, ध्वनि संयोजन एवं परिचालनमा मनोज केसी, वेशभूषा संयोजनमा शारदा सिलवाल छन् ।