काँग्रेसले जित्नेगरी निर्वाचनमा लाग्न देउवाको निर्देशन

687

काँग्रेसले जित्नेगरी निर्वाचनमा लाग्न देउवाको निर्देशन

बुटवल, १४ फागुन । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै सरकारले घोषणा गरेको निर्वाचनमा होमिनकालागि कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले मुलुकमा नेपाली काँग्रेस बाहेक लोकतान्त्रिक पार्टी अरु कोही नभएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले नै जित्नेगरी चुनावको तयारी गर्न पनि निर्देशन गर्नुभयो ।

वी.पी. कोईराला अध्ययन प्रतिष्ठान रुपन्देहीले निर्माण गरेको नवनिर्मित भवन उद्घाट तथा सोही प्रतिष्ठानले प्रकाशन गरेको वी.पी. स्मृति स्मारिकाको आज बुटवलमा विमोचन गर्दै सभापति देउवाले संविधान कार्यान्वयनकालागि पनि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनमा हामिनकालागि निर्देशन गर्नुभएको हो ।

लामो समयदेखिको लडाई पछि प्राप्त भएको संविधानको सफल कार्यान्वयनकालागि आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नै पर्ने भएकाले यो वा त्यो वहानामा चुनावलाई कसैले पनि विथोल्न नहुने भनाई उहाँले राख्नुभयो । निर्वाचन पछि स्थानीय तह निकै शक्तिशाली हुने भएकाले पनि त्यसले जनतालाई सच्चा मालिकको अनुभूति गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसकारणले पनि नेपाली काँग्रेसले जित्नेगरी सबै एक भएर निर्वाचनमा लाग्न आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि मंसिर भित्रै प्रादेशिक तहको निर्वाचनको तयारीमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानिय निर्वाचन कुनै पनि वाहनामा नरोकिने दावी गर्नुभयो । सबैसंग छलफल, वार्ता भएको भन्दै सहमतिमै निर्वाचन बैशाख ३१ गते हुने भएकोले त्यसै अनुरुप तयारी गर्न स्थानिय नेतृत्वलाई निर्देशन दिनुभयो । रुपन्देही क्षेत्र नं. ३ का सासद समेत रहेका खांणले लुम्बिनी र पोखरा जोड्ने सुरक्षित र दु्रत मार्गको लागि सिद्धार्थ राजमार्गको स्तरोन्नती हुनु पर्नेमा जोड दिनुभयो । बुटवलको सडक विस्तार गर्दा धेरै घर भत्काउनु पर्ने भएकोले त्यसको बैकल्पिक उपाय खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

भौतिक योजना तथा पुर्वाधार यातायात मन्त्री रमेश लेखकले तराई र पहाडमा छर्ने गरिएको भ्रम अतिवाद भएको भन्दै दुवै अतिवादबाट जोगाएर कांग्रेस अगाडी बढ्ने बताउनुभयो । उहांले रुपन्देहीमा संचालन भएका सडक र पुलमा कुनै किसिमको बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवन र बुटवल विचको महेन्द्र राजमार्ग चार लेनको चरणमा प्रवेश गरेको जानकारी गराउदै बुटवल–भैरहवा–लुम्बिनी सडक समेत स्तरोन्नती गरिने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष युवराज गिरीको अध्यक्षता स्मारिका प्रकाशन समितिका संयोजक एवं पत्रकार खिमानन्द भट्टराईको संचालन, प्रतिष्ठानका सहसचिव दिलनाथ गिरीको स्वागत र सदस्य रामकृष्ण खांणको धन्यवादमा भएको कार्यक्रममा पुर्व राज्यमन्त्री एवं सासद भरतकुमार शाह, सांसद एवं कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, अर्का सासद राजु खनाल, कांग्रेस क्षेत्र नं. ४ का सभापति हरी लम्साल, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भुवा प्रसाद लुइटेल लगायतले वी.पी.को विचार अहिले पनि सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।