टिकुलीगढ र अमुवा जोड्ने पुल उद्घाटन

951

टिकुलीगढ र अमुवा जोड्ने पुल उद्घाटन

‘निर्माण सामाग्रिको अभाव हुन नदिन निर्देशन’
बुटवल, १४ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका र अमुवा जोड्नेगरी तिनाउ नदीमा निर्माण गरिएको पक्की पुलको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको टिकुलिगढ र अमुवा सडक जोड्ने उक्त पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र रक्षा मन्त्री बालकृष्ण खाँणले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु भएको सो पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो । झण्डै ९ करोड २ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको उक्तपुलको लम्बाई २ सय २४ मिटर र चौडाई ६ मिटर रहेको डिभिजन सडक कार्यालय बुटवलका कार्यालय प्रमुख मेघराज मरासिनीले जानकारी गराउनु भयो ।

पुल निर्माणसंगै तिलोत्तमा, अमुवा सहित सौफर्साटिकर, हर्नैया, सूर्यपुरा, छपिया लगायतका जनताले प्रत्यक्ष लाभ लिनेछन् । पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारण भैरहवाको वेथरी र बुटवलको वेलवास भएर यात्रागर्न बाध्य थिए । पुलको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मुलुकको बिकास निर्माणकालागि आवश्यक पर्ने आर्थिक तथा निर्माण सामाग्रीको अभाव हुन नदिने गरी सरकारले काम गरेको बताउनु भयो । उहाँले बिकास निर्माणमा दलीय एकता अपरिहार्य रहेको बताउँदै बिकासकालागि दलगत स्वार्थ भन्दा माथि उठ्न पनि सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा रक्षा मन्त्री तथा त्यस क्षेत्रका जनप्रतिनीधि बालकृष्ण खाँणले रुपन्देहीमा सञ्चालित बहुउपयोगि आयोजना सम्पन्न गर्नकालागि आवश्यक पर्ने निर्माण सामाग्रिको व्यबस्थापनकालागि स्थानीय तहमा समस्या भए मन्त्री परिषद्बाट निर्णय गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुद्ध सर्किट, अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, ६ लेन सडकलगायत निर्माणाधिन आयोजनाहरु समयमै पुरा गर्न निर्माण सामाग्रीको अभाव हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन गर्नुभयो ।

त्यस्तै सांसद तथा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, अर्का सांसद राजु खनाल, एमालेका केन्द्रीय सदस्य लिला गिरी, डिभिजन सडक कार्यालय बुटवलका ईञ्जिनियर जयलाल मरासिनी लगायतले पुल निर्माणले रुपन्देहीका दुई लाख बढी जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।