देशकै नमूना बस्ती बसाल्ने योजना

515

देशकै नमूना बस्ती बसाल्ने योजना

बुटवल, १४ फागुन । बुटवल १४ स्थित विभानगर सामुदायिक संस्थाले देशकै नमूना बस्ती बसाउने गरि योजना अघि सारेको छ । आज भएको संस्थाको तेश्रो बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनमा त्यस्तो योजना संस्थाले अगाडि सारेको हो ।

बुटवल १४ ढवाहमा सामूहिक सेफ्टी ट्याङकी र बायोग्याँस सहितको बस्ती बसालीसकेको सो संस्थाले  निकट भबिष्यमै सामुहिक भवन निर्माण गर्ने जनाइएको छ । बस्तीमा रहेका करिव एक सय घरलाई सदस्य बनाएर संस्थाले सामूहिक लगानीमा गाई पालन तथा कृषि गरेर दुध र तरकारीमा आत्मनिर्भर हुने गरि काम समेत शुरु गरेको संस्थाका अध्यक्ष चित्रबहादुर जिसीले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा समाजसेवी एंव नयाँ शक्ति नेपालका नेता गोविन्द केसी, सामाजिक अभियान्ता जीवन भुसाल, कृषि विकास बैंकका गोपाल गैरे, इञ्जिनियर छविन्द्र भट्टराई, शिक्षक दामोदर पन्थी, संस्थाका उपाध्यक्ष खुमानन्द भुसाल, समाजसेवि निरञ्जन सुवेदी, पत्रकार विनोद परियार, संस्थाका सचिव गंगालाल सापकोटा, कोषाध्यक्ष मानबहादुर कुँवर लगायतले बोल्दै देशकै नमूना बस्ती बसाल्ने कामको थालनी भएकाले यसलाई सार्थकता दिन सुझाव दिएका थिए ।

साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । सोही अवसरमा सञ्चारक्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार विनोद परियारलाई सम्मान गरिएको थियो । यसैविच संस्थाको अधिवेशनले आगामी तीन बर्षका लागि खुमानन्द भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा गंगालाल सापकोटा, सचिवमा मानबहादुर कुँवर, कोषाध्यक्षमा दामोदर भुसाल, सदस्यमा सुमित्रा खनाल, किरण खनाल, राजकुमारी छन्त्याल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।