मधेस बन्द, हडताल र नाकाबन्दीले छेकेन दसैं पर्व मान्नेलाई

मधेस बन्द, हडताल र नाकाबन्दीले छेकेन दसैं पर्व मान्नेलाई

Dashain11अजयकुमार साह/
धनुषा/“भरखरै भूकम्पको सामना गरेर दसैंको स्वागत गरिरहेका नेपालीको मनोबल यो बन्द, हडताल र नाकाबन्दीले तोड्न सक्दैन,” क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नमिता उप्रेती भन्छिन् ।

विगत ६८ दिनदेखिको महोत्तरीसहित तराई मधेसका जिल्ला मधेस बन्दको चपेटामा परेका भएपनि अहिलेको असहज परिस्थितिमा समेत विजयादशमी मनाइरहेकी उप्रेतीको उमङ्गमा कुनै कमी देखिएन । उप्रेतीले रु २५० प्रति लिटरको पेट्रोल किनेर भएपनि आपूmहरु (श्रीमान, छोरा) सर्लाहीको हरिवन माइत टिका लगाउन बाइकमा जान लागेको बताइन् ।

महेन्द्रनगरको हनुमानचोकमा भेटिएकी गृहिणी एवम् व्यवसायी लक्ष्मी भुजेलले अवस्था जस्तो भएपनि खुशीकासाथ मान्यजनको हातबाट टिका थाप्नु, शुभकामना आदान प्रदान गर्नु र माता भवानीको विभिन्न रुपको आराधना गर्नु नै दशहराको मर्म भएको बताउँदै भनिन्, ‘दुई जोर लुगाको साटो एक जोर, सिँगै खसी किन्ने ठाउँमा पाँच किलो मासुले काम चलाउँला, ग्यास नपाएर के भयो ? माटाको चुल्होमा थोरै परिकार बनाएर खाऔँला तर दसैंको प्रभावलाई केहीले छेक्न सक्दैन ।’

‘अझैं पनि सहजरुपले सवारी आवागमन सुरु भएको छैन । भारतबाट आएका मालवाहक वाहान र स्थानीय ठूला गाडी प्रहरी स्कर्टिङमा, त्यो पनि रातिपख गुडिरहेका छन् । अपराह्नदेखि अबेर रातिसम्म पूर्वपश्चिम राजमार्गको महोत्तरीको वर्दिवासदेखि धनुषाको लालगढको सडकमा गाडीको लाम देख्न सकिन्छ । यात्रामा जोखिम कायमै छ । मुलुकको अन्य सहरजस्तै विहानदेखि परिवारका कुनै सदस्य ग्यास खोज्न हिंडिरहेका हुन्छन् भने कोही मन्दिरमा पूजा गर्न गइरहेका हुन्छन् ।

परिवारकै कोही पेट्रोल खोजि रहेका हुन्छन् भने अरु बच्चाबच्चीसँगै लुगा, खेलौना र बेलुन किनिरहेका हुन्छन् । घटस्थापना सुरु नहुँदै यहाँका चोक, बजार र सडकमा बेलुन बोकेका युवायुवती देख्न थालिए । हातभरी बेलुन र खेलौना बोकेका बालबालिकालाई डो¥याउँदै अभिभावक हिंडिरहेका हुन्छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामजी सिंहले भन्नुभयो, ‘जीवनमा दुःखसुख आइराख्ने हुनाले वर्षदिनको महापर्वमा त्यसको असर पर्न हुँदैन ।’ वहाँले कतिपय अनावश्यक दैनिक खर्च कटौती गरेर यो पर्वकोलागि प्रबन्ध मिलाएको बताउनुभयो ।

महेन्द्रनगरका स्थानीय राजनीतिकर्मी हरिप्रसाद पौडेलले भन्नुभयो, ‘यो संसार टुकीदेखि सोलार प्रविधिमा पुगिसक्यो, दशमी त सधैँ उस्तै रमाइलो लाग्छ,’ । वहाँले ‘द्वन्द्व एवम् आन्दोलन चर्किएको बेला र बेलाबेलामा खडेरी परेर अन्न उत्पादन नहुँदा पनि सबैले यी पर्व मनाएकै बताउनुभयो ।

निस्सन्देह नाकाबन्दिले यहाँको बजारमा दसैंकालागि चाहिने पर्याप्त सामग्रीको आपूर्ति नहुँदा अभाव र महङ्गी छ । भारतीय पोसाकको ठाउँ थाइल्याण्ड र चीनबाट आएका लुगाफाटाले लिएको छ । ठाउँठाउँमा दसैं मेला भने लागेकै छ । समोसा, चाट, पकौडा, प्याजी, खेलौना र मिठाई पसल सजिएकै छ । आ–आफ्नो आवश्यकता र क्षमता अनुरुप सबैले किनमेल गरिरहेकै छन् ।

‘अरु वर्ष दश हजारको लुगा किन्नेले तीन हजार कै भएपनि किनेकै छन्,’ शिक्षक मिनबहादुर तामांगले भन्नुभयो, ‘जेजति खाएपनि भोजन स्टलमा भिड देखिएकैछ ।’ स्थानीयले अद्भुत ऊर्जा र जोशकासाथ अहिलेको अनौठो परिस्थितिसँग जुध्दै आपसी एवम् पारिवारिक तालमेलकासाथ विजया दशमी मनाइरहेका छन् ।

पत्रकार महासङ्घ महोत्तरीका सचिव धमेन्द्र झाले भन्नुभयो, ‘गाडी नचलेर बाहय रौनक भलै कम देखिएको होला, सम्पन्नदेखि विपन्न सबैले परापूर्वदेखि धुमधामकासाथ मनाउँदै आएको यस्तो पर्वमा मनलाई कहाँ थाम्न सकिन्छ र ?’

सीमापारीबाट दसैं, तिहार र छठजस्तो महापर्वमा पुजन सामग्री ल्याएर महेन्द्रनगरको साप्ताहिक हाट सखुवाबजारमा बेच्ने भारतीय नागरिक रामचन्द्र मण्डलले पनि नेपालीहरुको उत्साहको प्रशंसा गर्छन् ।

‘बन्दमा पैसा अभाव हुने हुनाले पुजन सामग्री के बिक्री होला जस्तो लागेको थियो,’ वहाँले भन्नुभयो, ‘तर, थोरै भएपनि किनेकै छन् । ‘दुई देशको जनताको बीचमा कुनै मनमुटाव र दुश्मनी छैन, यताको किनमेल र काम गर्न सुरसन्ड, सीतामढी, सम्सी, मधवापुर जान्छन्, हामी ब्यापार गर्न यता आउँछौं,’ उनले भने । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •