अवरोध आएपनि चुनाव हुन्छ : रक्षामन्त्री खाँण

310

अवरोध आएपनि चुनाव हुन्छ : रक्षामन्त्री खाँण

बुटवल, १५ फागुन । रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले चुनाव हुन नदिने जस्तो सुकै अवरोधको सामना गरेर पनि सरकारले चुनाव गराएरै छाड्ने बताउनु भएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका नव नियुक्त अध्यक्षलाई पदस्थापनकालागि आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जारी संविधानको कार्यान्वयन र राजनीतिक निकासकालागि पनि चुनाव अपरिहार्य रहेको र चुनावको वातावरण बनाउन सरकार लागि परेको बताउनु भयो । मन्त्री खाँणले घोषित मितिमै चुनाव गराउनकालागि सरकारले सबै दलहरुलाई मिलाउने प्रयत्न गरिरहेको बताउँदै भन्नुभयो–‘सहमतिमा आउने आउँछन्, कोही सहमतिमा नआएपनि स्थानीय चुनाव हुन्छ ।’

उहाँले निर्वाचन विथोल्नकालागि जस्तो सुकै अवरोध आएपनि स्थानीय चुनाव गराएरै छाड्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भयो । निर्वाचन समितिलाई जेजस्तो कुराहरु आवश्यक पर्छ सबै सरकारले व्यबस्था गर्ने र सुरक्षाको पनि पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यबस्था सरकारले गर्ने उहाँले बताउनु भयो ।