
बुटवल, १३ फागुन । रुपन्देहीको तिलोत्तमा ४ मा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने भएको छ । डिङ्गरनगरमा रहेको श्रृङ्गेश्वरधाममा जेष्ठ नागरिक मिलन केन्द्रको एक समारोहका बिचमा आज शिलान्यास गरिएको हो ।
मिलन केन्द्र जेष्ठ नागरिकका लागि होस्टेल सरहनै हुनेछ । केन्द्रको तिलोत्तमा नगरपालिकाका कार्यकारी प्रमुख मोहन पौडेल र बिदुषी यशोदा देवीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै पौडेलले मानव सेवाका निम्ति आफ्नो कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाले धाममा निर्माण थालिएको मिलन केन्द्रलाइ ब्यबस्थित ढंगले निर्माण गर्नुपर्ने बताउनुभयो । मिलन केन्द्रमा ६५ बर्ष भन्दा माथिका महिला र ७१ बर्ष नाघेका पुरुषले निःशुल्करुपमा बिहान १० देखि बेलुका ५ बजेसम्म मनोरञ्जन, मन भुलाउन तथा समय ब्यतित गर्न,सबैसंग भेटघाट गर्न पाउने ब्यबस्था हुनेछ ।
मिलन केन्द्र निर्माणका लागि आजमात्रै करिब १५ लाख रुपैंया संकलन भएको छ । खेम पुन र ओमी पुनबाट ५ लाख, तुलबहादुर सर्तुङ्गे मगरबाट १ लाख ११ हजार, तुल बहादुर गाहाबाट १ लाख ११ हजार, तुल्सीराम कडेंलबाट २ लाख ५१ हजार,हिराबहादुर भलामीले ५ लाख प्रदान गरेका छन् । सो अबसरमा श्रृङ्गेश्वरधामका अध्यक्ष ऋषि भण्डारी, गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष तथा धामका संरक्षक हिराबहादुर भलामी, समाजका उपाध्यक्ष नारायण पन्थ, सल्लाहकार जेपी कडेंल, सचिब केशब पोख्रेल,ओमी पुन लगायतले बोल्दै नमुनाकामको सफलताको कामना गरेका थिए ।
केन्द्र नमुना हुनेछ, धामका संरक्षक हिराबहादुर भलामी भन्छन्—‘सबैको जीवन सुरक्षित गर्ने र बुढेसकालमा रमाउनका लागि केन्द्र फलदायी हुनेछ । ’
श्रृङ्गेश्वरधाममा श्रीमद्अध्यात्म रामायण प्रबचन
रुपन्देहीको तिलोत्तमा ४ श्रृङ्गेश्वरधाममा फागुन १३ गतेदेखि जारी संगीतमय श्रीमद्अध्यात्म रामायण प्रबचनमा श्रद्धालुको संख्या बढ्दै गएको छ । रुपन्देहीमा पहिलोपटक बेलपत्र एवं सवाकरोड तीलद्वारा शिबजी र शालग्राम भगवानको अर्चना पनि गरिएको हो । महायज्ञमा रुरु क्षेत्र पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सत्संकल्पमा महाशिबरात्रीको अबसरमा संगीतमय श्रीमद्अध्यात्म रामायण प्रबचनमा बिदुषी यसोदा देवीले संगीतमय कथा बाचन गरिरहनुभएको छ ।
पाल्पा,गुल्मी र स्याङ्जाको संगमस्थलको रुपमा परिचित रुरुक्षेत्र रिडिको प्रचार प्रसार र शाष्ट्र शान्तिका लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञ १९ गतेसम्म संचालन हुने बताइएको छ । महायज्ञको आयोजना गुल्मीले सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वरधाम समिति र रेसुङ्गा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको हो ।