काठमाडौं/संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न रूपान्तरित संसदकोबैठक भोलि शनिबार बस्दैछ।शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नेछन्। समितिले संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न सम्भवतः कात्तिक ८ सम्मको समय उपलब्ध गराउने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ।संसदमा भएका दलहरूबीच पछिल्लो समय देखिएको मतभेदका कारण राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन हुने सम्भावना असम्भ देखिएको छ। निर्धारित समयमा सहमति हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ।निर्वाचन कार्यक्रमअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता र त्यसको भोलिपल्ट उम्मेदवारको प्रचारप्रसारका लागि समय दिने तयारी भइरहेको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए।संसद सदस्यहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने भएकाले उम्मेदवारलाई छोटो समय भए पनि प्रचारप्रसारका लागि उपलब्ध गराइनेछ। सम्भवतः कात्तिक ११ वा १२ भित्र निर्वाचन गरिसक्ने तयारी सचिवालयको छ।दुईभन्दा बढी उम्मेदवार भई कसैले पनि हाल कायम सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ मत प्राप्त गर्न नसके पहिलो र दोस्रो उम्मेदवारबीच पुनः मतदान गराइनेछ । त्यसपछि बहुमत प्राप्त गर्ने व्यक्ति मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति हुनेछन्।सत्तारुढ गठबन्धनको प्रमुख दल एमालेले पूर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम अघि सारिरहेको छ। एमालेका केही नेताले भने संविधानको सफल कार्यान्वयन र मुलुकमा उत्पन्न जटिल परिस्थिति सामना गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन राष्ट्रपति पद कांग्रेस उम्मेदवारलाई दिनुपर्ने सुझाव राखिरहेका छन्।कांग्रेसभित्र कतिपय नेताले वर्तमान राष्ट्रपति रामवरण यादवको चाहनाबमोजिम दोस्रो कार्यकालका लागि पुनः यादवलाई नै अघि सार्नुपर्ने अडान लिएका छन्। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने यादवलाई मात्र पटक–पटक अवसर दिनुभन्दा अहिलेको समयमा नयाँ अनुहार रोज्नुपर्ने अडान लिँदै आएको छ।यादवको विकल्पमा कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र मानबहादुर विश्वकर्माको नाम अग्रपंक्तिमा आइरहेको छ। कतिपयले तराई–मधेसमा देखिएको समस्या समाधानका लागि थारू वा मधेसी समुदायबाट सकभर कांग्रेसकै र नभए मधेसवादी दलका तर्फबाट भए पनि राष्ट्रपतिमा पठाउनुपर्ने सुझाव राखेका छन्।कांग्रेसले पछिल्लो समय प्रधानमन्त्री निर्वाचनमा समर्थन जनाएको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रस्तुत गर्ने प्रस्ताव आन्तरिक छलफलमा भएको थियो। ठाकुरले आफू उक्त पदका लागि तयार नभएको अभिव्यक्ति सार्वजनिक माध्यमबाट दिइसकेका छन्।सत्ता साझदार एकीकृत माओवादीले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने माग गर्दै त्यसका लागि पार्टी नेता अमिक शेरचन वा माओवादी पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको नाम चर्चामा ल्याएको छ।प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन नसके संसदको गोप्य मतदानमा सत्तापक्षको पल्ला भारी देखिए पनि परिणाम यसै हुन्छ भन्ने अवस्था छैन।