पेट्रोलियम पदार्थमा कालोबजारी बढ्यो

पेट्रोलियम पदार्थमा कालोबजारी बढ्यो

petrol-6लुम्बिनी (रुपन्देही), ७ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।
भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।
सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर रु २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् ।
खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ । मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।
रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।
खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ । खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •