
पाल्पा, २२ फागुन । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा आयोजना गरिएको पाल्पा महोत्सव २०७३ सकिएको छ । फागुनको १२ गतेदेखी आयोजना गरिएको महोत्सव आज सकिएको हो ।
महोत्सवमा झण्डै दुई लाख अवलोकनकर्ताहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अवलोकन गरेको मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले बताउनु भयो । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ भन्ने नारा दिएर आयोजित महोत्सवमा झण्डै आठ करोडको कारोबार भएको छ । महोत्सवमा विभिन्न जिल्लाका उद्योगी तथा व्यापारीहरुको स्टल रहेको थियो ।
चार सय ६३ स्टल रहेको महोत्सवको मुख्ये मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्रिहरुको प्रदर्शनी, टर्की र अष्ट्रिज चरा, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रिहरुको उत्पादन प्रदर्शनी रहको थियो । ५० भन्दा बढी स्टलहरु जनचेतनाका लागि राखिएका थिए । स्थानीय उद्यमशीलताका स्टलहरुसँगै, कृषि, अटोमोबाईल, आईटि, बैंक तथा वित्तिय संस्था, गार्मेन्ट, किराना आदी स्टल महोेत्सवमा थियो ।
महोत्सवमा कलाकारहरु हेमन्त शर्मा, शिव परिवार, पशुपति शर्मा, चोलेन्द्र पौडेल, पुरुषोत्तम न्यौपाने, केशव सापकोटा, सुस्मिता राना, रवि रिमाल, प्रिती आले, पुरुषोत्तम गैरे, धनबहादुर गुरुङ, कल्पना कुसुम, पुरुषोत्तम भण्डारी, शर्मीला गुरुङ्ग, पुष्कल शर्मा, श्रीकृष्ण भण्डारीको प्रस्तुती भयो । त्यस्तै मोहन खड्का, डिबी कालिज, दिपक गरौजा, बिष्णु गुरुङ, हुम गैरे, आनन्द बज्राचार्य, रितु थापा, माईला बा, मिलन लामा, शिलु भट्टराई, राजा राजेन्द्र र शान्ता परिवार, तिलकबम मल्ल, अञ्जना सारु, तारा लामिछाने र शान्ति श्री परियार, चन्दा कार्की, जानुका पौडेल, प्रेम लामिछाने, पुजा पराजुली लगायतका कलाकारको प्रस्तुती भएको थियो ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवाका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पुगेको प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताउनु भयो । संघको मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, सह–आयोजकमा जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रवद्र्धकमा कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेको थियो ।