ग्याँसको प्रयोगमा सचेत हुन सुझाव

1.3K

ग्याँसको प्रयोगमा सचेत हुन सुझाव

बुटवल, २३ फागुन । विक्रेता र उद्योगी बिच भएको सहमति उद्योगीले कार्यान्वयन नगरेको भन्दै ग्याँस विक्रेताले असन्तुष्ट जनाएका छन् । नेपाल आयल निगमले गत पुसको १९ गते ग्यासको उपभोक्ता मुल्य एक हजार ३ सय पाँच रुपैंया निर्धारण गर्दै विक्रेतालाई दिँदै आएको कमिसन ५० रुपैंयादेखि ३२ रुपैंयामा झारेको थियो । यद्यपी अहिले उक्त मुल्य भने बढिसकेको छ ।

उपभोक्ता मुल्य निर्धारण गरेकोमा स्वागत गरेपनि विक्रेताले कमिसन घटाएकोमा बिरोधका कार्यक्रम गर्दै आएका थिए । आन्दोलनका दौरानमा माघको ४ गते विक्रेता र रुपन्देहीका उद्योगी बिच व्यापार प्रमोसनको नाममा विक्रेतालाई थप ६ प्रतिशत कमिसन दिने सहमति भएपनि उक्त सहमति उद्योगीले अहिलेसम्म कार्यान्वयन नगरेको भन्दै विक्रेताले असन्तुष्टि जनाएका हुन् ।

ग्याँस विक्रेता संघ बुटवल नगर समितिको आज सम्पन्न साधारण सभामा बोल्दै ग्याँस विक्रेता महासंघका महासचिव तथा रुपन्देहीका अध्यक्ष बसन्त गौचनले स्थानीय उद्योगलाई सहयोग गर्नुपर्छ भनेर आन्दोलन रोकेपछि भएका सहमति कार्यान्वयन नगरेर उद्योगीले विक्रेतालाई धोका दिएको बताउनु भयो । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले उद्योगी र विक्रेता एक सिक्काका दुई पाटा जस्तै भएकाले दुबै पक्षलाई फाईदा हुने गरी काम गर्नुपर्ने र दुबै पक्षले विश्वासको वातावरण बनाउन सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा पञ्चमहालक्ष्मी उद्योगका महेश पोखरेल, बुटवल ग्याँसका भुपाल श्रेष्ठ र सिद्धार्थ ग्याँसका सुशिल नेपालले उद्योगीले लगानी गरेर सञ्चालन गरेको उद्योगबाट दिईएको कमिसनलाई सरकारले दिएको भनेर नबुझ्न आग्रह गर्दै आफूहरु पनि उद्योगको मात्रै नभएर विक्रेताकालागि पनि पहल कदमी गरिरहेको बताउनु भयो । उहाँले उद्योगीहरुले उद्योग र विक्रेताको कमिसन रकम बढाउनु पर्ने लगायतका माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएको बताउँदै आन्दोलन रोक्ने क्रममा भएका सहमति कार्यान्वयन हुने बताउनु भयो ।

संघका नगर समिति अध्यक्ष पदिप पन्तले गत पुसको १९ गतेलाई कालो दिनको रुपमा चित्रण गर्दै व्यबसायीका जायज मागमा सरकार गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले वाणिज्य कार्यालय लगायत सरकारी निकायको रोहवरमा हाईड्रोलिक परीक्षण अनिवार्य गर्ने व्यबस्था गर्न पनि सरकारसंग माग गर्नुभयो । उहाँले आगामी वर्ष संघले आफ्नै जग्गामा कार्यालय भवन सिलान्यास गर्ने समेत व्यबसायीलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विक्रेताको भण्डारण सुरक्षित बनाउन अपरिहार्य रहेको र उपभोक्ताले पनि रेगुलेटर, पाईप, ग्याँस चुलो गुणस्तरीय प्रयोग गर्नुपर्ने भनाई राखेका थिए । यसो गर्ने हो भने सम्भावित दुर्घटनाबाट मुक्त हुन सकिने उनिहरुको भनाई थियो । कार्यक्रममा ग्याँस विक्रेता महासंघका केन्द्रीय सदस्य दुर्गा उपाध्याय, नगर समितिका भुवनेश्वर खत्री, महासचिव नारायण खनाल लगायतले पूर्व तथा पश्चिमका उद्योगले ६० प्रतिशत पनि कमिसन दिन सक्ने तर रुपन्देहीका उद्योगले दिन नसक्नुको कारण खोजेका थिए । उनीहरुले यहि रुपमा अंगाडी बढे व्यबसायीले व्यबसायबाट हात धुनु पर्ने स्थिती आएको बताएका थिए ।