दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त

662

दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त

सोल, २७ फागुन । दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ ।

उहाँलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो । इजलाशको नेतृत्व गर्नुभएका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ ।

उहाँ अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुनुहुन्छ । महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उहाँ दोस्रो हुनुहुन्छ । यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उहाँलाई माफी दिइएको थियो । उहाँको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो ।

राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो । सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुग्नु भएको थियो ।

महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए । रासस/सिन्हवा