कांग्रेसद्वारा कञ्चनपुर घटनाको निन्दा

239

कांग्रेसद्वारा कञ्चनपुर घटनाको निन्दा

बुटवल, २८ फागुन । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको बैठकले कञ्चनपुर घटनाको घोर निन्दा र भत्सना गरेको छ । आफ्नै सीमामा भारतीय सेना आएर नेपालीमाथी गोली चलाउदाँ पनि सरकार मुखदर्शक बनेकोले यस्ता घटना आगामी दिनमा नघटुन् भन्दै कांग्रेसले ध्यानाकर्षण समेत गराएको छ ।

बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले आउने बैशाख ३१ गते सरकारले तोकेको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो तवरबाट जस्तो सुकै भुमिका निभाउन तयार रहने जनाएको छ । बुटवल –१३ बुद्धनगरमा बसेको बैठकले बुटवल–१३ स्थीत प्रस्तावित औद्योगिक क्षेत्रमा ७६ विगाहा जग्गाभित्र परेका अन्जादी २ हजार ५ सय घर परिवारलाई त्यहाबाट विस्थापित गर्न नहुने ठहर गरेको छ ।

सदियौ देखि बसोबास गरेका स्थानीयलाई औद्योगिक कोरीडोरको निहुँमा विस्थापित गर्न नहुने निर्णय नगर समितिले गरेको छ । यस्तै जिपी स्मृति दिवस बुटवलका सबै वडाहरुमा चैत ७ गते १५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय गरेको नगर सचिव ज्योति भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य हरिबहादुर आचार्य क्षेत्री, रामेश्वर श्रेष्ठ, महाधिवेशन प्रतिनिधी रामबहादुर कार्की, काजीमान श्रेष्ठ, भिजन श्रेष्ठ, क्षेत्रीय उपसभापति पर्शराम ढकाल, सचिव जोगबहादुर खत्री, नेपाल भारत जनसम्पर्क समितिका महामन्त्री नारायणप्रसाद भुषाल लगायतले स्थानीय तहको निर्वाचनमा सबैको भूमिका महत्वपुर्ण भएकाले नेपाली कांग्रेसको अभिभावकिय भूमिका खेल्नु पर्ने बताउनुभयो ।