भैरहवा, २८ फागुन । ‘शान्ति र समृद्धिको संवाहक’ नारासहित दुई वर्ष देखि भैरहवाबाट प्रकाशित हुँदै आएको गौतमबुद्ध सन्देश शनिबारदेखि दैनिकरुपमा प्रकाशन शुरु भएको छ । पत्रिका तेस्रो वर्ष प्रवेश गरेसंगै दोस्रो वार्षिकोत्सवको अवसर पारेर दैनिकरुपमा प्रकाशन शुभारम्भ भएको हो । हाल भैरहवामा दैनिक पत्रिका प्रकाशन भएको छैन । पत्रिकाको दैनिक प्रकाशन शुभारम्भका अवसरमा बोल्ने वक्ताहरुले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमुखी पत्रकारिता अबको आवश्यकता भएकोमा जोड दिए ।
दैनिक पत्रिकाको विमोचन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले गौतमबुद्ध सन्देश पत्रिकाले प्रकाशन गरेको छोटो अवधिमा नै दैनिक शुभारम्भ गर्नु प्रशंसनीय भएको बताए । उनले सञ्चार माध्यममा आउने समाचारमा सत्यता र तथ्यपरक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल सह–संयोजक रुद्र भट्टले पत्रकारिता क्षेत्रमा पनि राजनीति हावी हुन जांदा सबै क्षेत्र जस्तै पत्रकारिता पनि विभाजित हुन पुगेको उल्लेख गर्दै पत्रकारिताले समाजलाई जोड्नुपर्ने बताए । उनले हालसम्मको पत्रकारिता दलीय राजनीतिमुखी हुंदा देशको विकास र समृद्धि पछाडि परेको औंल्याउंदै अबको पत्रकारिता राजनिितक स्थायित्व, आर्थिक विकास र समृद्धिमुखी हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले बदलिंदो समय र सूचना प्रविधिको तीब्रतर विकासलाई मध्यनजर गर्दै खोजमूलक र नयांपन दिएर पत्रकारिता गरे सफल भइने धारणा राखे । उनले व्यवस्थापन पक्षलाई सुदृढ बनाउनुपर्ने र स्थानीय उद्योगी–व्यवसायीले स्थानीय सञ्चारमाध्यमलाई नै प्राथमिकता दिएर विज्ञापन दिने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए ।
सो अवसरमा नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका संयोजक देवेन्द्र पाण्डे सागर, नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, वरिष्ठ साहित्यकार विजय सागर, लायन्स क्लब अफ होली सिटीका संस्थापक ओम श्रेष्ठ, ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय भैरहवाकी प्रमुख शान्ति दिदी लगायतले बोल्दै गौतमबुद्ध सन्देश दैनिक पत्रिका प्रकाशनको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीको अध्यक्षता, प्रा.लि.का सञ्चालक नारायणप्रसाद भण्डारीको स्वागत, प्रबन्ध सम्पादक माधब न्यौपानेको सञ्चालन, सञ्चालक ज्ञानु पौड्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।