बुटवलमा होली मिलन

618

बुटवलमा होली मिलन

बुटवल, २९ फागुन । होलीको अवसरमा बुटवल उद्योग बाणिज्य संघले आज संघ परिषरमा होली मिलन कार्यक्रम गरेको छ । सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुका कामना सहित आयोजना गरिएको होली मिलनमा संघका अध्यक्ष, पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, व्यबसायिक संघ संस्था तथा सरकारी निकायका प्रतिनीधिहरुले होलीले सबैमा सल्लासमय वातावरण बनोस भन्ने कामना गरेका थिए ।

होली फागुन पुर्णिमामा हिमाल पहाड र तराईमा मनाईन्छ । सोही अनुसार आज पहाडमा होली मनाईन्छ भने भोली तराईमा होली मनाईन्छ । बुटवल उद्योग बाणिज्य संघले प्रत्येक वर्ष पहिलो दिन मनाउँदै आएको संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो । होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक राक्षसको जन्म भएको थियो ।

हिराण्यकशिपुलाई भगवान विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो ।

एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।