अधिकारीहरुका अनुसार आगामी नोभेम्बरको ८ तारिखमा हुन लागेको सो ऐतिहासिक निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन् ।
उक्त निर्वाचनको बढीमा दुई हप्तामात्र बाँकी रहेको छ । करिब दुई दशकपछि म्यानमारमा राजनीतिक दलहरुको बृहत् सहभागितामा संसदको निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । म्यानमारको निर्वाचन आयोगका अध्यक्षले शनिबार जानकारी दिएअनुसार म्यानमार सरकारले सुरक्षादेखि लिएर सम्पूर्ण प्रबन्ध गरिसकेको छ ।
निर्वाचन आयोगका अध्यक्ष उ तिन आयले सो निर्वाचनका लागि ६ हजार ६५ जनाले उम्मेदवारी दिएका जानकारी दिनुभयो । विगतका निर्वाचनहरुका भन्दा यो उम्मेदवार सङ्ख्या निकै धेरै हो ।
यस उम्मेदवारीमध्ये कम्तीमा पनि ८०० जना महिला उम्मेदवार रहेका छन् । यो सङ्ख्या पूरै उम्मेदवारको १३.२ प्रतिशत हुन आउछ ।
निर्वाचन आयोगले असुरक्षाका कारण विभिन्न पाँच राज्यका केही स्थानमा निर्वाचन स्थगित गरेको जनाएको छ । ती स्थानमा सुरक्षाको विशेष व्यवस्था गरेर अर्काे चरणमा निर्वाचन गरिने छ ।
सो निर्वाचनमा ९१ वटा राजनीतिक दलले सहभागिता जनाएका छन् । त्यस्तै ३१० वटा स्वतन्त्र व्यक्तिले पनि सो निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
देशभरका केन्द्रीय र क्षेत्रीय गरी चार तहका संसदमा छानिले १ हजार १६३ स्थानका लागि नोभेम्बर ८ मा मतदान हुनेछ । सो निर्वाचनमा मतदान गर्ने वैधानिक मतदाताको सङ्ख्या तीन करोड ५० लाख रहेको छ ।
म्यानमारमा ४० हजार ५१६ मतदान केन्द्र राखिएको छ । ती मतदान केन्द्रका लागि ४० हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी खटाइएको छ ।
त्यसैगरी म्यानमारको निर्वाचन आयोगले यस पटकका लागि विदेशमा रहेका नागरिकबाट पनि मतदानको व्यवस्था मिलाएको छ । त्यसका लागि करिब ४४ वटा देशका दूतावासमा पनि मदतानका लागि मत पेटिका राखिएको जनाइएको छ ।
यस निर्वाचनमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले पनि प्रतिस्पर्धा गर्दै हुनहुन्छ ।
करिब साढे दुई दशकसम्म सैनिक सरकार रहेको म्यानमारमा यस पटक प्रजातान्त्रिक सुधारस्वरुप निर्वाचन गर्न लागिएकोले पनि यस निर्वाचनले विश्वव्यापी रुपमा नै चर्चा पाएको बताइन्छ । सिन्ह्वा