नयाँ सन्देशका साथ ‘दर्पणछायाँ–२’

630

नयाँ सन्देशका साथ ‘दर्पणछायाँ–२’

बुटवल, २ चैत । करिव १७ वर्ष अंगाडी ४० लाख लगानी गरेर निमार्ण गरेको नेपाली कथानक चलचित्र ‘दर्पण छायाँ’ दर्शकमाझ सर्वाधिक मन पराएको चलचित्रको सूचीमा सूचिकृत छ । जुन चलचित्रबाट ५ करोड मुनाफा आर्जन गरेको निर्माताहरु बताउँछन् ।

त्यसको करिव १६/१७ वर्ष पछाडी पुनः फरक कथा बस्तु र फरक परिवेशमा उही दर्पणछायाँलाई निरन्तरता दिँदै ‘दर्पण छायाँ–२’ मा ८४ लाख रुपैंया लगानी गर्दा पनि निर्माताले २ करोड मुनाफा आर्जन गर्ने लक्ष्य लिएका छन् । नेपाली चलचित्रको बजार बढ्दै गएको चलचित्र क्षेत्रमा लागेका व्यक्तिहरुले अभिव्यक्ति दिँदै आएका छन् । गत शुक्रबारदेखि हलमा प्रवेश पाएको ‘दर्पणछायाँ–२’ राजनीतिक अस्थिरताको शिकार हुन पुगेको छ । शुक्रबारबाट रिलिज भएको यो चलचित्रलाई शुक्रबार नेपाल बन्द, त्यसपछि होलीका कारण दर्शकको उल्लेखनीय साथ पाउन सकेन । चलचित्रकालागि यो अत्यन्तै प्रतिकुल बनेको निर्देशक तुलसी घिमिरेले बताउनु भयो ।

नेपालमा बजाईने बाजा (म्युजिक)लाई ब्राण्ड बनाउनु पर्छ, बाजाको ताललाई मागिखाने भाँडो बनाईनु हुँदैन भन्ने भावनाले म्युजिकको खोजकालागि पनि यो चलचित्र निर्माण गरिएको उहाँले बताउनु भयो । चलचित्रमा पुराना बाध्यवादक तथा सांगितकर्मी र उनीहरुले बजाउने बाध्यबादकको प्रयोग र तिनको महत्वका बारेमा चलचित्रले दर्शकलाई नयाँ सन्देश दिन खोजेको बताउनुभयो । शबु गराल कार्की र रबी कार्कीले निर्माण गरेको उक्त चलचित्रमा विलकुलै नयाँ कलाकारले अभिनय गरेका छन् ।

नयाँ चलचित्र ‘दर्पण छायाँ–२’ मा अभिनेताहरु पुष्पल खड्का, फिरोज तिमिल्सेना, जीवन आचार्य, अभिनेत्री श्रद्धा प्रशाई, सहारा कार्की लगायतले अभिनय गरेका छन् । चलचित्र पुराना कलाकारले चल्ने भन्दा पनि विषयबस्तु, परिवेश र कलाकारको फ्युजन मिलाउन सक्ने हो भने राम्रो बन्न सक्ने र बिकाउ हुने निर्देशक घिमिरे बताउनु हुन्छ । यो चलचित्रमा पनि चलचित्रको कथाबस्तु अनुसार नै कलाकार चयन गरिएको उहाँले बताउनु भयो ।

नयाँ चलचित्र ‘दर्पणछायाँ–२’को वजार प्रवद्र्धनकालागि बुटवल आएको चलचित्रको टोलीसंघ आज नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा निर्देशक घिमिरेले समय र बजारको माग अनुसारको चलचित्र निर्माण गरिएको बताउनु भयो । नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रमेश अर्यालले गर्नुभएको थियो ।