आज देखि एसइई परीक्षा

1.2K

आज देखि एसइई परीक्षा

फाईल तस्विर 

काठमाडौं, ३ चैत । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुदैछ । परीक्षाको पहिलो दिन आज विहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदैछ ।

चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विद्यार्थीको भने चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन हुनेछन् ।

विगतका वर्षमा एसएलसी परीक्षाको रुपमा लिइँदै आएपनि यसवर्षदेखि एसइई नाम दिइएको हो । शिक्षा ऐनको आठौं संशोधनमा माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यमिक शिक्षा परीक्षा गर्ने जिम्मेवारी दिइएको छ ।

परीक्षामा अमर्यादित व्यवहार गरेमा र गर्न सहयोग पु¥याएमा एक लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसइई परीक्षालाई मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले झन्डै २९ हजार सुरक्षाकर्मीसहित केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरि ६७ हजार ५ सय ९१ कर्मचारी खटाएको छ ।