काठमाडौं, ३ चैत । मेनपावर सञ्चालकको अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल प्रहरीका दुई नायब निरीक्षक सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अञ्चल सशस्त्र प्रहरी गुल्म मेची दरबन्दी भई अपराध महाशाखाअन्तर्गत महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक सम्वत तामाङ, प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भई महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक सूर्यबहादुर थापा, रुपन्देही देवदह घर भई हाल ललितपुर इमाडोलमा बस्ने कुमार भन्ने राजकुमार गुरुङ र काभ्रे शिखरआम्बोटे गाविसका अर्जुनबहादुर लामा रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
धनकुटा घर भई धुम्बाराहीस्थित टाइगर ओभरसिज प्रालि सञ्चालन गर्दै आएका बद्री राईलाई गत माघ १ गते कोटेश्वरमा बोलाई राजकुमार गुरुङसहितका व्यक्तिले जबर्जस्ती अपहरण गरी सिनामङ्गलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर त्रासमा पारी उनको साथमा रहेको नगद रु दुई लाख ३० हजार लुट्नुका साथै नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुई/दुई वटा गरी चार वटा चेकमा रु २५ लाखका दरले जम्मा एक करोडको चेकमा हस्ताक्षर गराएका थिए ।
प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरजगुरुङ समेतको नाममा ती चेक काट्नुका साथै उनीहरुले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराई लिई राति अपहरणमुक्त गरेका थिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा अवैध रुपमा ल्याइएको सुन लुटिएको र त्यसमा मेनपावर सञ्चालक बद्री राई निकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा ती दुई प्रहरीले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुनसक्ने देखिएको छ ।
उहाँले भन्नुभयो, ‘लुटिएको सुनबारे सूचना पाएपछि प्रहरी कार्यालयलाई थाहा नदिएर उनीहरु त्यो लुटिएको सुनको भाग खोज्दै मिलीजुली खाने दाउमा लागेको देखिन्छ ।’ अनुसन्धान जारी रहेको र मेनपावर सञ्चालकको सुन लुटपाटको घटनामा संलग्नताबारे केही नखुलेको उहाँले बताउनुभयो ।
महाशाखाबाट प्रहरी नायब उपरीक्षक अजय केसीको नेतृत्वको टोलीले घटनामा संलग्न चार जनालाई विभिन्न स्थानबाट गत मङ्गलबार पक्राउ गरी बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । रासस