निधिद्वारा कञ्चनपुर घटनाबारे मोदीको ध्यानाकर्षण

340

निधिद्वारा कञ्चनपुर घटनाबारे मोदीको ध्यानाकर्षण

काठमाडौँ ४ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उहाँको सरकारी निवासमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै मन्त्री निधिले कञ्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिनुुभएको थियो ।

यसैगरी नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन गृहमन्त्री निधिले आग्रह गर्नुभएको थियो । भारतमा हालै सम्पन्न प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हासिल गरेकामा मन्त्री निधिले नेपाल सरकार, नेपाली जनता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नातर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

नेपालको आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन पनि भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो । प्रतिआतङ्कबादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका मन्त्री निधि आज राति स्वदेश फर्कने कार्यक्रम छ ।