गृहमन्त्री निधिले स्वदेश फर्केर के भने ?

622

गृहमन्त्री निधिले स्वदेश फर्केर के भने ?

काठमाडौँ, ४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो ।

उहाँले सबै किसिमको आतङ्कवादको अन्त्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र नेपाल आतङ्कवादको अन्त्यका लागि प्रतिबद्ध रहेको भनी सम्मेलनमा प्रस्तुत गरेको नेपालको प्रस्ताव स्वीकृत भएको उल्लेख गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको चर्चा गर्दै गृहमन्त्री निधिले प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिनुुभएको बताउनुभयो ।

नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन भारत तयार रहेको गृहमन्त्री निधिले जानकारी दिनुभयो । उहाँले दुई देशबीचको सम्बन्धमा देखिएको समस्यालाई कूटनीतिक तवरबाट समाधान गर्न सकिने धारणा दुवै पक्षबाट व्यक्त गरिएको बताउनुभयो ।

उहाँले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाँका पत्रकार , नागरिक समाजका अगुवासँग भेट भएको र ती भेटघाटमा सबैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिमा भारतको अत्यन्त सहयोग र सहानुभूतिको भावना देखाएको बताउनुभयो । इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनमा भाग लिन उहाँ फागुन ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।