लुम्बिनीमा भारतीय पर्यटकको बसाई लम्बाउने योजना

614

लुम्बिनीमा भारतीय पर्यटकको बसाई लम्बाउने योजना

बुटवल, ५ चैत । प्रदेश नम्बर ५ का पर्यटकिय क्षेत्रको विकास र संरक्षण गरि यस क्षेत्रमा पर्यटकको आवागमनलाई प्रभावकारी बनाउन बुटवलमा पर्यटन सेवा केन्द्र स्थापना गरिने भएको छ । पर्यटन सेवा केन्द्र स्थापनाका लागि सरकारसंग आवश्यक वजेट माग गर्न पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पर्यटन कार्यालय रुपन्देहीका प्रमुखलाई निर्देशन दिनुभयो ।

आज बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको १७ औं साधारण सभामा बोल्दै सहसचिव आर्चायले पर्यटनको पूर्वाधार विकासमा राज्यले केही गरेन भन्ने भन्दा पनि संभावनाको खोजी गरि त्यसको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उद्योग व्यवसाय ऐन २०४९ संशोधनको प्रकिृयामा रहेको उल्लेख गदै सहसचिव आर्चायले संशोधनसंगै होटल व्यवसाय पर्यटन उद्योगका रुपमा स्थापित हुने उल्लेख गर्नुभयो । पर्यटन मन्त्रालयले रुपन्देहीलाई भारतीय पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकसित गर्ने र भारतसँग पर्यटकीय क्रियाकलाप बढाउन संयुक्त पर्यटन प्रबद्र्धन कार्यक्रम अघि सारिएको पर्यटन मन्त्रालयका सहसचिव आचार्यले बताउनुभयो । उहाँले भारतीय पर्यटक लुम्बिनीमा आएर केही घण्टा मात्र बस्ने गरेको भन्दै अब बसाई लम्बाउने योजना मन्त्रालयले बनाएको जानकारी गराउनु भयो ।

सहसचिव आचार्यले बेलहिया नाका स्थलमार्ग भएर पर्यटक आउने प्रमुख नाका भएकाले रुपन्देही भारतीय पर्यटकको केन्द्र बन्न सक्ने बताउनुभयो । मुलुकमा भू–उपयोग नीति लागु भएमा व्यवसायीले माग गरे अनुसारको सामुहिक लगानीका लागि आवश्यक जग्गाको व्यवस्था गर्न सकिने उहाँका भनाई छ । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले होटल तथा रेष्टुरेण्ट व्यवसाय सेवा व्यवसाय भए पनि मूल्य लिएर गरिने व्यवसाय भएकाले शुल्क अनुसारको सेवा उपभोक्ताले पाउनु पने बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका स्थापक अध्यक्ष माधव नेपालले ५ नम्बर प्रदेशमा एउटा साँस्कृतिक पहिचान झल्कने खालको सामुिहक होटल आवश्यक पर्ने भन्दै त्यसको लागि जग्गा उपलब्ध गराउन पर्यटन मन्त्रालयसँग आग्रह गर्नुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुद्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उप– महानगरपालिकाका  वरिष्ठ अधिकृत विष्णु खनाल, संघका संस्थापक अध्यक्ष धुर्वकुमार तुलाचन, निःवर्तमान अध्यक्ष मोदनाथ वेल्वासे, पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहाकार देवीकुमार श्रेष्ठ, नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम महासचिव बावुराम गौतम लगायतले पर्यटन व्यबसायका रुपमा स्थापित होटल व्यवसायलाई उद्योगको रुपमा विकास गरेर वेरोजगार र गरिवी निवारण गर्न सकिने धारणा राखेका थिए ।

साधारण सभामा संघले प्रदान गर्दै आएको पर्यटन पत्रकारिता पुरस्कार पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार पर्यटन मन्त्रालयका सहसचिव आचार्यले प्रदान गर्नुभएको हो । पुरस्कारको राशी ५ हजार रुपैंया सहित सम्मान पत्र र दोसल्ला रहेको छ । सोही अवसरमा संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा आर्थिक सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघले प्रकाशन गरेको पर्यटन डाईरेक्ट्रीको समेत विमोचन गरिएको थियो ।