सफ्टवेयरलाई प्रभावकारी बनाउन तालिम

1.3K

सफ्टवेयरलाई प्रभावकारी बनाउन तालिम

बुटवल, ५ चैत । नेपाल सरकारको गृह मन्त्रालयले पाँच नम्बर प्रदेशमा पर्ने जिल्लाका प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयका कर्मचारीलाई तालिम सञ्चालन गरेको छ । गृहमन्त्रालयले प्रयोगमा ल्याएका सफ्टवेयरहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नकालागि तालिम सञ्चालन गरिएको हो ।

नेपाल सरकारको गृह मन्त्रालयले आठ प्रकारका सफ्टवेयर सञ्चालन गरेको भएपनि मातहतका सबै कार्यालयले प्रभावकारी रुपमा सफ्टवेयरको प्रयोग नगरेकाले त्यसलाई व्यस्थित गर्नकालागि तालिम सञ्चालन गर्नु परेको मन्त्रालयका सहसचिव केदार न्यौपानेले बताउनु भयो । अन्यत्रको तुलनामा गृह मन्त्रालयमा सूचना प्रविधीको प्रयोग कम भएको स्वीकार गर्दै उहाँले अन्य कुराको प्राथमिकताका कारण गृह लगायत मातहतका कार्यालयमा सूचना प्रविधीको प्रभावकारी विकास गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले अव जुन सुकै हालतमा पनि सूचना प्रविधीको प्रयोगलाई प्रभावकारी रुपमा सञ्चालन गरिने आश्वासन दिनुभयो ।

आज देखि बुटवलमा सुरु भएको चारदिने तालिममा पाँच नम्बर प्रदेशमा पर्ने ११ जिल्लाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नागरिकता फाँटका एक जना कर्मचारी तथा प्रत्येक ईलाका प्रशासन कार्यालयबाट एक जना कर्मचारी सहभागी भएका छन् । तालिममा गृह मन्त्रालयले सञ्चालन गरेका सिटिजनशिप इन्फरमेशन म्यानेजमेन्ट (सि.आई.एम.एस.) सफ्टवेयर, ईन्टरनेट वेभ प्रोटल (डिष्ट्रिक वेबसाईट), डिष्ट्रिक एड्मिनिस्ट्रेसन अटोमेसन (डि.ए.ए.एस.) सफ्टवेयर, पेपर डकुमेन्टेसन अर्शिभल एण्ड म्यानेजमेन्ट (पि.डि.ए.एम.एस.) सफ्टवेयर, एसएमएस, ई–एटेन्डेन्स्, नेटवर्क र विपद् सम्बन्धि आठ वटा सफ्टवेयर कार्यान्वयनकालागि प्रशिक्षण गरिने उपसचिव श्रवणकुमार तिमिल्सिनाले बताउनु भयो ।

गृह मन्त्रालयले प्रयोगमा ल्याएका सफ्टवेयरहरुलाई कसरी सबै जिल्लामा सञ्चालनमा ल्याउने, सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा नै तालिम केन्द्रित हुने अर्का उपसचिव सागरमणी पाठकले बताउनु भयो । नेपालमा हालसम्म करिव २ करोड २५ लाख नागरिकता वितरण भएको छ । त्यसमध्ये १ करोड ७५ लाख नागरिकता डाटा वेसमा भईसकेको र बाँकीलाई पनि चाँडै नै डाटा वेसमा समावेश गरिने उहाँले बताउनु भयो । ‘अहिले एउटा जिल्लामा भएको डकुमेन्ट अर्को जिल्लामा पाउन मुस्किल छ ।’ उहाँले भन्नुभयो–‘त्यस्ता प्राविधिक समस्या समाधानकालागि पनि सफ्टवेयरको प्रयोग अनिवार्य छ ।’

तालिमको उद्घाटन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले तालिमलाई तालिमको रुपमा मात्रै नलिएर तालिमबाट फर्केपछि तालिममा सिकेका कुरालाई व्यबहारमा उतारेर सूचना प्रविधी मैत्री कार्यालयका रुपमा बिकास गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । तालिममा पत्रकार दिनेश पाण्डेले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । शासकीय सुधार तथा ई–गभर्नेन्स शाखाले २०७० पछि नागरिकता सम्बन्धि काम गर्न थालेको हो । उक्त शाखा मार्फत केन्द्रीय तथ्याँक भण्डारण, आवश्यक सफ्टवेयरको निर्माण गरि हार्डवेयरको प्रवन्ध मिलाउने, गृह मन्त्रालय र अन्तरगतका निकायबिच सूचना सञ्चार प्रविधी व्यस्थित गर्ने, विद्युतीय हाजिरीको व्यबस्थापन गर्ने, सूचना प्रविधीको प्रयोग गरि विद्युतीय सुशासन लगायतका काम हुनेछन् ।