महासंघमा शेखर गोल्छा समुहको उम्मेद्वारी घोषणा

771

महासंघमा शेखर गोल्छा समुहको उम्मेद्वारी घोषणा

बुटवल, ६ चैत । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न अधिवेशनकालागि शेखर गोल्छा समुहले उम्मेद्वारी घोषणा गरेको छ । महासंघको विधान संशोधन भई वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान बनाएपछि आगामी कार्यकालको नेतृत्व मौजुदा वरिष्ठ उपाध्यक्ष भवानी राणा हुने पक्का छ ।

राणाको नेतृत्वमा हुने महासंघको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतबाट उपाध्यक्ष पदमा उमेशलाल प्रधान, एशोसियटबाट उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष पदमा ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी घोषणा भएको हो ।

महासंघका मौजुदा समितिका अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा सहित पदाधिकारी तथा सदस्य र जिल्ला नगर उद्योग बाणिज्य संघको बुटवल आएको टोलीले आज बुटवल उद्योग बाणिज्य संघमा उम्मेद्वारी घोषणा सभाको आयोजना गरि उम्मेद्वारी घोषणा गरेको हो ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले आर्थिक पूर्वाधार बिकास तथा लगानी मैत्री वातावरण बनाउन पैरवी गर्दै आएकाले गोल्छाको समुहलाई सहयोग गर्ने निर्णय गरिएको बताउँदै आगामी दिनमा पनि औद्योगिक बिकासकालागि कुशल भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा बुटवल उद्योग बाणिज्य संघले महासंघको केन्द्रीय सदस्यमा अंगाडी सारेका संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई पनि सहयोग गर्न आह्वान गर्नुभयो ।

२०२२ सालमा स्थापित महासंघको संस्थापक सदस्य समेत रहेको उद्योग बाणिज्य संघले रुपन्देहीमा औद्योगिकिकरणका कारण आर्थिक केन्द्रको रुपमा बिकास हुँदै गएकाले यहाँका उद्योगी व्यबसायीका समस्या उठान गर्नकालागि श्रेष्ठलाई कार्यकारिणी सदस्यमा अंगाडी सारिएको अध्यक्ष सिंहले उल्लेख गर्नुभयो ।

उम्मेद्वारी घोषणा सभामा यस क्षेत्रमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु प्रभावकारी ढंगले सहभागि भएका थिए । नेपाल उद्योग बाणिज्य महासंघको यही चैतको २८ र २९ गते काठमाण्डौमा ५१ औं साधारण सभा तथा अधिवेशन हुँदैछ ।

यो पनि हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको उम्मेदवारी घोषणा