लगानीमैत्री वातावरणका लागि औद्योगिक व्यवसाय ऐन

531

लगानीमैत्री वातावरणका लागि औद्योगिक व्यवसाय ऐन

बुटवल, ६ चैत । मुलुकमा लगानी मैत्री वातावरण सृजना गर्न औद्योगिक व्यवसाय ऐन २०७३ ल्याईएको सरोकारवाला निकायका व्यक्तिले जनाएका छन् । विसं २०४९ साल पछि उद्योगी र व्यवसायीहरुको सहमतिमा तयार गरि ल्याईएको औद्योगिक व्यवसाय ऐन भएकोले मुलुकमा उद्योग खोल्न र व्यापारलाई विबिधीकरण गर्नमा ऐनले सहयोग गर्ने कुरामा उनीहरु विश्वस्त छन् ।

रुपन्देही उद्योग संघको आयोजनामा आज बुटवलमा आयोजित औद्योगिक व्यवसाय ऐन २०७३ विषयक गोष्ठीमा वोल्ने वक्ताहरुले ऐन आएकोमा स्वागत गदैं कार्यान्वयन प्रकृया सरलिकृत हुनुपर्ने धारणा राखेका थिए । उद्योगी व्यवसायीले ऐनका बारेमा राखेका जिज्ञासामा पश्चिमाञ्च विकास क्षेत्रकी क्षेत्रिय प्रशासक यामकुमारी खतिवडाले स्रोत साधनको सदुपयोग र स्थानीय जनशक्तिको परिचालन गराउने गरि ऐन ल्याईएको बताउनु भयो ।

उद्योग दर्ता, संचालन र वहिरगमनका सवालमा ऐनमा सरलिकृत गरिएको र लगानी तथा महिला मैत्री रुपमा ऐन ल्याईएको उहाँको धारणा थियो । अर्थ मन्त्रालयका सह सचिव लक्ष्मण अर्यालले राष्ट्रिय अर्थतन्त्रलाई वलियो बनाउन र उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्ने गरि ऐन आएको उल्लेख गर्नुभयो । आयात र निर्यातलाई समानान्त्तर बनाउन र चुहावट रोक्नका लागि ऐन प्रभावकारी हुने सह सचिव अर्यालले दावि गर्नु भयो । स्वदेशमा आधारित कच्चा पदार्थको प्रयोग गरि उद्योग व्यवसाय संचालन गर्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्न र मुलुकमा आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य छ भन्ने कुरालाई ऐनले जोड दिएको सह सचिव अर्यालको ठहर छ ।

ऐन निर्माण समितिका सदस्य तथा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले मुलुकमा औद्योगिक वातावरण निर्माण गरि लगानी मैत्री उत्पादत्वको सहजताकालागि ऐन फलदायीहुने बताउनु भयो । उहाँले मुलुकमा उपलव्ध श्रोतको उपयोग, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरि औद्योगिक विकास र सवल अर्थतन्त्र निर्माणका लागि ऐन प्रभावकारी हुनेमा उद्योगी व्यवसायीलाई आश्वस्त पार्नु भयो । संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव माधव पौडेलले गर्नु भएको थियो ।