विपद् जोखिमलाई ध्यानमा राखेर विकास गर

450

विपद् जोखिमलाई ध्यानमा राखेर विकास गर

परासी, ७ चैत । विकास निर्माण गर्दा विपद् जोखिम व्यवस्थापनलाई ध्यानमा राखेर गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । गृह मन्त्रालयको आयोजना तथा जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीको संयोजनमा आज परासीमा भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण नीति र रणनीतिक कार्ययोजना तयारी जिल्ला परामर्श कार्यशालामा बोल्ने सरोकारवालाले विकास निर्माण र विपद् जोखिम व्यवस्थापन एउटै दिशामा जानु पर्नेमा उल्टो दिशामा गैरहेकोमा चिन्ता व्यक्त गरे ।

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र लगायतका स्थानीय साझेदार संस्थाको सहयोगमा भएको कार्यशालामा विपद् जोखिम व्यवस्थापनलाई ध्यानमा राखेर विकास निर्माण गर्दा विकास संगै विपद् निम्तिएको तर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । विकास र विपद् जोखिम व्यवस्थापन बीच समन्वय हुनु पर्ने औल्याइएको छ । स्थानिय बासिन्दाले अपनत्व गर्ने गरी विपद् व्यवस्थापनका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । अहिले जलवायु अनुकुलन, विपद् व्यवस्थापन लगायतको नाममा समुदायलाई विभाजन गर्ने काम भैरहेको हुंदा एउटै उद्वेश्य बोकेका कार्यक्रम विच समन्वय हुनुपर्ने खांचो औल्याइएको छ ।

कार्यक्रममा गृहमन्त्रालयका उपसचिव चक्रपाणी पाण्डेले विपद् व्यवस्थापन संविधानमै उल्लेख भएको हुंदा कानुन निर्माण र कार्यक्रम संचालन तर्फ जान सकिएमा विपद् व्यवस्थापनमा धेरै सुधार गर्न सकिने बताउनुभयो । कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले स्थानिय तह सम्मको सूचना प्रणालीलाई व्यवस्थित गर्दै जनचेतनाका कार्यक्रम गरेर विपद् व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति नवलपरासीका स्थानिय विकास अधिकारी युवराज कट्टेलले विपद् व्यवस्थापनलाई पाठ्यक्रममे समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो । डीपी नेटका उपाध्यक्ष विष्णु खरेलले नयां विपद् व्यवस्थापन ऐनको खाँचो रहेको ओल्याउदै बिपद व्यबस्थापनको क्षेत्रमा कृयासिल संघसंस्थाहरुको सहभागीतामा ऐन बनाउन सकिने हो भने प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा स्थानिय विकास मन्त्रालयका अधिकृत सीता दवाडी, प्याकका कार्यवाहक अध्यक्ष कृष्णराज काफ्ले लगाएतले विपद् व्यवस्थापनमा अहिले भैरहेका नीति नियमका झन्झटिलो प्रक्रियालाई सरल बनाउन सकेमा विपद्मा परेका व्यक्तिलाई पुर्नस्थापना गर्न सजिलो हुने बताउनु भएको थियो ।