विभेद विरुद्ध कानुन भएपनि कार्यान्वयन भएन

521

विभेद विरुद्ध कानुन भएपनि कार्यान्वयन भएन


बुटवल, ८ चैत । कानुनमा छुवाछुत अन्त्य भएपनि व्यबहारमा अझैपनि छुवाछुत प्रथा कायमै रहेको आज रुपन्देहीको सैनामैना स्थित कलौनीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।

जातीय उत्पीडन विरुद्धको दिवसको अवसरमा जातीय वर्ग उत्थान जिल्ला समन्वय समितिले आयोजना गरेको नेपालमा दलित् समुदायको मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कानुन बनेपनि कार्यान्वयन पाटो फितलो भएको औंल्याए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता लोकप्रसाद खरेलले सैद्धान्तिक रुपमा कानुन बनेपनि कानुनको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले गैरदलित्मा मात्रै नभएर दलित् दलित् विचमै छुवाछुत प्रथा कायम रहेको पनि उल्लेख गर्नुभयो । उहाँले छुवाछुत् प्रथाको अन्त्यका लागि कानुमा भएको व्यबस्थालाई कार्यान्वयन तहमा ल्याउन पनि सुझाव राख्नुभयो ।

कार्यपत्र माथि टिप्पणी गर्दै टिप्पणीकार गुणखर भट्टराईले परिवर्तनका कुरा गरेपनि आफूबाट परिवर्तनको सुरुवात नगर्दा सम्म छुवाछुत अन्त्य हुन नसक्ने बताउँदै धार्मिक ग्रन्थहरुमा भएको व्यबस्थाका कारण पनि छुवाछुत प्रथाको अन्त्य हुन नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले कानुनले व्यबस्था गरेका कुराहरु सबैले हुवहु कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । कसैले कानुनलाई खिल्ली उडाउँदै कानुन विपरित विभेद गर्छ भने त्यसलाई कारवाही हुने उहाँले बताउनु भयो ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले औपचारिक कार्यक्रममा बोल्ने मात्रै भन्दा पनि व्यबहारत सबैले उतार्ने हो भने छुवाछुत प्रथा स्वतः अन्त्य हुने दावी गर्नुभयो । औपचारिक कार्यक्रममा बोल्ने तर व्यबहारमा नउतार्ने हो भने कानुनमा व्यबस्था गरेर मात्रै लिखित दस्तावेजले केही पनि हुन नसक्ने उल्लेख गर्नुभयो ।

दलित वर्ग उत्थान समन्वयन समिति रुपन्देहीका अध्यक्ष रबि विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका योजना प्रमुख विष्णुप्रसाद ढुङ्गाना, नेपाली काँग्रेस सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, नेकपा माओबादी केन्द्र नगर कमिटी संयोजक हरिहर भट्टराई, जनमुक्तिका ओमबहादुर थापा, दलित विकास समन्वय समित जिल्ला उपाध्यक्ष नन्दबहादुर विक, राष्ट्रिय दलित मुक्ति मोर्चाका सुरेश विक, दलित अधिकारकर्मी मनु खड्का लगायतले भनाई राखेका थिए ।