बुटवलमा जुत्ता मेला हुँदै

788

बुटवलमा जुत्ता मेला हुँदै

बुटवल, ९ चैत । नेपाल युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा शुक्रबारदेखि बुटवलमा जुत्ता व्यापार मेला २०७३ हुँदैछ । युवा उद्यमीहरुको उद्यमशिलता बिकास गर्ने उद्देश्यका साथ स्थापित मञ्चले स्वदेशी उत्पादन प्रवद्र्धनकालागि जुत्ता मेला गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

उपत्यका बाहिर गत वर्ष पहिलो पटक बुटवलमा जुत्ता मेला गरेको मञ्चले गर्न लागेको यो मेला दोस्रो संस्करण हो । जसको सहआयोजकमा नेपाली जुत्ता घर रहेको छ । मेलामा नेपाली जुत्ता घरमा आवद्ध भएका उQद्योगबाट उत्पादित जुत्ताका ब्राण्डलाई मेलामा समावेस गराईने मेला आयोजक नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक सुमोदमान सैंजुले बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघको संरक्षकत्वमा गठित मञ्चले सञ्चालन गर्न लागेको उक्त मेलामा नेपाली जुत्ता घरमा आवद्ध भएका ७ वटा कम्पनीका ९ वटा जुत्ताका ब्राण्ड रहने छन् । नेपाली जुत्ता घरमा ८ वटा स्वदेशी कम्पनी सहभागि छन् ।

यहि चैतको २५ गतेसम्म सञ्चालन हुने मेलामा वेस फूटवेयर प्रा.ली., शिखर शुज ईण्डष्ट्रिज, लालिगुराँस फूटवेयर, मेघा शु ईण्डष्ट्रिज, पवित्रा शुज ईण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग र स्काई शुज ईण्डष्ट्रिजबाट उत्पादित शिखर, डियरहिल, स्काई शुज, कोसेली, क्रसरोड, फूटल्याण्ड, शुजल्याण्ड, ईजी शुज, टमटेलर ब्राण्डहरु राखिने नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताउनु भयो । यस प्रकारको सेलमेला नेपाली जुत्ता घरले काठमाण्डौमा मात्रै ६ पटक गरिसकेको छ भने गत बर्ष बुटवल र भर्खरै मात्रै पोखरामा सफलता पूर्वक सम्पन्न भएको उहाँले बताउनु भयो ।

१५ दिन सम्म सञ्चालन गरिने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड सम्मको कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् ।
पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमालले बुटवल उद्योग बाणिज्य संघले हरेक वस्तुगत उत्पादनको मेला गर्ने नेपाली उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य लिए अनुसार गतबर्ष जुत्ता मेला तथा मोवाईल मेला सम्पन्न गरिसकेको र सुरु गरिएका मेलालाई निरन्तरता दिँदै जाने बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघले औद्योगिक व्यापार मेला संगै विशिष्टिकृत रुपमा कृषि मेला समेत गर्दै आएको छ ।

यस्ता मेलाले उद्योगीका उत्पादन उपभोक्ताको माझमा लैजान सहज हुने तथा त्यसमा भएका कमी कमजोरी सुर्धानकालागि पनि उत्पादकलाई एउटा माध्यम हुन सक्ने उहाँको भनाई छ । दुई वर्ष अंगाडीसम्म नेपाली जुत्ताले ६२ प्रतिशत बजार ओगटेपनि अहिले घटेर ४५ प्रतिशतमा झरेको बताईन्छ । भूकम्प र नाकाबन्दीका कारण प्रयाप्त मात्रामा स्वदेशी उत्पादन हुन नसकेका कारणले पनि बजार हिस्सा घट्दै गएको उद्योगीहरु बताउँछन् । त्यसलाई माथि उठाउनकालागि पनि यस्ता मेलाले भूमिका खेल्न सक्ने नेपाली जुत्ता घरका अध्यक्ष प्रसाईको भनाई छ ।